सुर्खेत। नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु सुर्खेतमा भेला भएका छन्। अपराध अनुसन्धानका चुनौती र समाधानको रणनीति बनाउन कर्णालीका १० वटै जिल्लाका अनुसन्धान अधिकृत सुर्खेत आएका हुन्। प्रहरीले कर्णाली प्रदेश स्तरीय अपराध अनुसन्धानको समीक्षा गर्ने, अनुसन्धानका चुनौती समाधानका लागि रणनीति बनाउने बताइएको छ।

शुक्रबार समीक्षा गोष्ठि उद्घाटन गर्दै कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपराध अनुसन्धानमा प्रहरीले खेलेको भूमिका र सफलताको प्रसंशा गरे। प्रविधीको बिकाससंगै अपराधको शैली परिवर्तन भएको भन्दै अनुसन्धानको दायरालाई पनि समयानुकुल बनाउदै लैजानुपर्ने मुख्यमन्त्री कँडेलले बताए।

समाजमा बदलिँदो आपराधिक परिवेश, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश एवम् अनुशासनहीनतालाई सेवा प्रवाहमा विकास र परिवर्तन गर्दै अपराध अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरि सुधारका क्षेत्रहरु पहिचान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘अनुसन्धानमा रहेका कानूनी लगायत अन्य समस्याको पहिचान गरि समाधान गर्न साझा धारणा विकास गर्नुहोस्,’ कँडेलले भने, ‘नागरिकको जीउ, धन र वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्नु र विना भेदभाव न्यायको सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो।’

राज्यले कानून तर्जुमा गर्नु मात्र पयाप्त नभइ कानूनको प्रभावकारी कार्यान्वयन, विद्यमान कानूनी व्यवस्था र उपलब्ध स्रोत साधनले अपराधलाई सम्बोधन, अनुसन्धान, प्रक्रिया तथा प्रविधि बारेमा समय समयमा अध्ययन र समिक्षा हुनुपर्ने उनको भनाई छ।

अपराध अनुसन्धानमा भइरहेका कामहरुको समिक्षा गर्दै सहभागी प्रहरी अधिकृतहरुलाई अझ परिस्कृत ढंगले काम सम्पादनमा उत्प्रेरित गर्ने विश्वास उनको छ। नागरिकको भरोसाले मात्र समाजमा विश्वास र सहयोगको वातावरण सिर्जना गर्न सकिन्छ भन्ने विषयमा प्रहरी कर्मचारीले हेक्का राख्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको