काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीको दोस्रो तथा अन्तिम सेमिफाइनलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्यान्ड आमने सामने हुँदैछन्।
खेल लाहोरस्थित नेसनल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ। दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता तथा न्युजिल्यान्ड समुह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका हुन्।
टेम्बा बावुमाको कप्तानीमा रहेको दक्षिण अफ्रिका अपराजित छ। समूह चरणमा अफगानिस्तान र इङ्ल्यान्डलाई हराएको दक्षिण अफ्रिकाले अस्ट्रेलियासँग अंक बाँडेको थियो।
मिचेल स्यान्टनरको कप्तानीमा रहेको न्युजिल्यान्डले समूह चरणमा पाकिस्तान र बंगलादेशलाई हराउँदा भारतसँग पराजय बेहोरेको थियो।
याे खेलको विजेताले उपाधिका लागि भारतको सामना गर्नेछ। भारतले अस्ट्रेलियालाई चार विकेटले पराजित गर्दै लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको हो।



