रूपन्देही । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका याेजनाहरू माग गरे सहज हुने बताउनुभएकाे छ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयाेजना गरेकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूका लागि आयाेजित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उपप्रधानमन्त्री सिंहले याेजना छनाैट निश्चित विधि हुनेभन्दै त्यसलाई ध्यान दिएर याेजना माग गर्नुपर्नेमा जाेड दिनुभयाे ।
उहाँले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति,जनप्रतिनिधि सबैकाे राय सुझाव समेटेर छलफलबाटै नयाँ याेजनाहरू छनाैट हुने पनि बताउनुभयाे । `याे गठबन्धन सरकार हाे । सबै कुरा कांग्रेसले भनेकाे मात्रै हुँदैन । गबन्धनमा रहेका सबै दलले केहि न केही लचक हुनुपर्ने अवस्था छ,´ उहाँले भन्नुभयाे । विकास निर्माणकाे याेजना छनाैट गर्दा आवश्यक्ताका आधारमा धेरै नागरिक लाभान्वित हुने याेजना प्राथमिकतामा पर्ने भन्दै याेजना माग गर्दा त्यस्ता याेजना माग गर्नेतर्फ ध्यान दिनुपर्नेमा सिंहले जाेड दिनुभयाे ।
उपप्रधानमन्त्री सिंहले पछिल्लाे समय सरकार अस्थीर बनेपछि नागरिकले स्थिरता खाेजेकाले अहिले कांग्रेस र एमालेसहितका अरू दल मिलेर राजनीतिक स्थिरताका लागि अहिलेकाे गठबन्धन सरकार बनेकाे बताउनुभयाे । सरकारमा रहेर विकास र समृद्धिका लागि काम गरिरहेकाे भन्दै नागरिककाे चाहनाअनुसार काम अघि बढाइरहेकाे सिंहकाे भनाई थियाे । उहाँले स्थानीय तहका जनप्रतिनिधिसँग पनि समन्वय गरेर काम गर्न क्षेत्रीय सभापतिहरूलाई आग्रह गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न सुझाव दिनुभयाे ।



