काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरु तत्कालका लागि रोक्न माग गरेकी छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरि सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन्।
उनले भनिन्,‘पटक पटक प्रहरी प्रशासन र नागरिकबीच झडप हुने, आन्दोलनकारीहरु घाइते हुनेहुँदै आइरहेको छ। गोलीसमेत चल्ने र करोडौंको क्षति हुने गरेको छ। हिजोमात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखापर्यो। अहिले निषेधाज्ञा लागेको छ। यसरी राज्यको अर्कमर्णयताका कारण नागरिकहरु ‘एस’ केवलकार र ‘नो केवलकार’ को रुपमा विभाजित भएका छन्। अराजक भएका छन्। आक्रोशित छन् । तर,सरकारले उचित निकास दिन सकेका छैनन्। समाजवादको नारा भजाउने पार्टीहरु नै सरकारमा छन्, ‘सरकारले जनताप्रति देखाएको अभिभावकत्व यही हो त ?। त्यहाँ संरचनहरु बनाउँदा विवादरहित बनाउनेपर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो। तर, त्यसो भएन्। यसअघि पनि सम्झौता भएको थियो। त्यसो हुन सकेन् । माघ २२ गते पनि सम्झौता भयो, कार्यान्वयन हुन सकेन्। निशर्त रिहा गर्ने भनिएकोमा धरौटीमा रिहा गरिएको छ। सहमति उल्लंघन भएको छ। नागरिकप्रति विश्वास डगमगाएको छ। जुन ठाउँमा विकास निर्माणको काम हुँदैछ । त्यही ठाउँमा नागरिकलाई लाठ्ठी प्रहार गरेर, नागरिकमाथि गोली प्रहार गरेर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास ? । हामी समग्र पार्टीको तर्फबाट यो निर्माण कार्य तत्काल रोक्न माग गर्दछौं।’
साथै उनले आन्दोलनकारी र सरकारबीच भएको सहमित सरकारले उल्लंघन गरेको बताइन्। आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनको भनाइ छ।



