अगाडीका सरकारले गर्न नसकेका राम्रा कामलाई यो सरकारले पूर्णता दिन्छ
काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब काम प्रारम्भ गर्नुपर्ने बताउनुभएको छ। काठमाडौं उपत्यका भौतिक विकास समितिको आइतबार शहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौंलाई व्यवस्थित गर्नका लागि काम प्रारम्भ गर्नुपर्ने बताउनुभयो।
काठमाडौं कुनै बेला उर्बर कृषि भूमि रहेको भन्दै चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरुप शहरका रुपमा विकसित हुन पुगेको भन्दै उपप्रधानमन्त्री सिंहले विगतका कमजोरीहरुलाई सच्याउन समय लागे पनि काम भने अघि बढाउने बताउनुभयो।
‘धान उब्जनी हुने खेतहरुमा अहिले घरै घर बनेको छ। काठमाडौं अव्यवस्थित शहरका रुपमा विकसित भएकाले अब विस्तारै व्यवस्थित शहरका रुपमा लैजानका लागि हामीले कुनै न कुबै विन्दुबाट काम गर्नुपर्ने हुन्छ। काम गर्नका लागि अब प्रारम्भ गर्नुपर्छ,’ उहाँले भन्नुभयो। उपप्रधानमन्त्री सिंहले अब बन्ने शहरहरुलाई व्यवस्थित गर्नका लागि शहरी नीति मन्त्रिपरिषद्बाट पारित भइसकेको बताउनुभयो।
मन्त्रालयमध्ये शहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै आफूले नेतृत्व सम्हालेपछि कामहरुले गति पाएको सिंहको भनाई थियो। ‘शहरी विकास मन्त्रालय नेपाल सरकारका सबैभन्दो कान्छो मन्त्रालयकै रुपमा छ। मन्त्रालय गठन भएको यतिका वर्षपछि बल्ल एउटा शहरी नीति मन्त्रिपरिषद्बाट पास भएको छ। यो भन्दा अघि मन्त्रालयमा रहेका मन्त्रीज्यूहरुले पनि कोशिस गर्नुभएको हो। परिस्थिती मिलेन होला। हुन सकेको थिएन। मन्त्रालय स्थापना भएदेखि काम गर्दै गर्दै बल्ल अहिले आएर शहरी विकास नीति पास भएको छ,” उहाँले भन्नुभयो।
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई सरकारले पूर्णता दिने पनि बताउनुभयो।



