काठमाडौँ । तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायाङ्कन सुरू भएको छ। गत माघ २२ गते मुहुर्त गरेर छायाङ्कन सुरू गरिएता पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो।

आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार नै गोरखामा छायांकन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए। निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामू ल्याउदैछन्। यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।

निर्देशक घिमिरेले आफ्नै छोरी पञ्चमीलाई निर्देशन गरिरहेका छन्। उनले अभिनेता मदनकृष्ण श्रेष्ठ र अरुण क्षेत्रीसँग मुहुर्त सट दिएकी थिइन्। निर्देशक घिमिरेकी छोरी पञ्चमीले पहिलो दृश्यमा गरेको कामले आफूसहित टिमलाई प्रभावित बनाएको बताए। उनले भने,‘मदन दाईसँग स्क्रीन सेयर गर्दा छोरी पञ्चमीले कस्तो गर्लिन् भन्ने कौतुहलता थियो किनकि डेब्यु कलाकारको तयारी भएता पनि एक÷दुई दिन सहजता हँुदैन । तर, पहिलो दृश्य कैद गर्दा उनमा देखिएको आत्मविश्वासले म ढुक्क छु ।’

उनले छोरीले आफ्नै पेसा फिल्मकर्मलाई रोजेकोमा खुसी व्यक्त गरे। किनकि अन्य पेसाका अभिभावक झैँ उनी छोरीले फिल्ममा काम गरेको हेर्न चाहन्थे । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको फिल्मको कथा निर्देशक घिमिरेले नै तयार पारेको हो। उनले भने,‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । फिल्मको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु।’

स्वास्थ्यलाभ गरेर छायांकनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ उर्जाका साथ काम भइरहेको बताए। ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङकन गरिरहेका छन्। भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन्। छायाँकार प्रधान तीस वर्षपछि नेपाली फिल्म छायाङ्कनका लागि नेपालमा आएका हुन्। फिल्मको छायाङकन गोरखा आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिए।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारले अभिनय गरिरहेका छन्।
यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्। रिम्पोछे लामा थिङग र सुरेश लामा थिङग सह निर्माता रहेको फिल्म नेपालमा वैङकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ।

यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो। पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ मार्फत निर्देशनमा कमब्याक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको