रामेछाप। नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले भूतपूर्व सेना र प्रहरीलाई देशले उपयोग गर्न नसकेको बताएका छन्। एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रामेछापको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई मंगलबार मन्थलीमा सम्बोधन गर्दै ढुङ्गेलले नयाँ पुस्ताका युवा र शैक्षिक संस्थाको प्रशिक्षकका रूपमा पूर्वसैनिक र प्रहरी परिचालन गर्न सकिने बताए।
युवा, विद्यार्थी र समुदायलाई अनुशासनको पाठ पूर्वसैनिक र प्रहरीले सिकाउन सक्ने उनको धारणा छ। ‘सेवा निवृत्त सेना र प्रहरीको अनुभवबाट समाजले लाभ लिन सक्नु पर्दछ’, ढुङ्गेलले भने। म बाट हामी बन्नको लागि कम्युनिष्ट भएको बताउँदै उनले मानिसको सीपले समाज परिवर्तन गर्न सकिन्छ भनेर लागेकाहरू माक्र्सवादी भएका स्पष्ट पारे। यस्तो संगठनको चेन भित्र बस्न तयार भएकाहरू लेनिनवादी भएको उनको भनाइ छ।
भ्रष्टाचार आज देशको प्रमुख चुनौती भएको बताउँदै ढुङ्गेलले कष्ट व्यहोरेर, देश विदेश घुमेर, अनुशासनको पाठ सिकेर आएका भूतपूर्व सेना र प्रहरीले नेपालमा सुशासन अभिवृद्धिको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उनको विश्वास छ। देशलाई शिरमा राखेर काम गर्ने संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन हुनसक्ने ढुङ्गेलको धारणा छ।
देशलाई समृद्धिको बाटोमा लैजाने राष्ट्रिय शक्ति नेकपा एमाले भएको बताउँदै ढुङ्गेलले यो अभियानमा भूतपूर्व सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका हुने बताए। कम्तीमा पाँच वर्ष कुनैपनि राजनीतिक दलले एकले सरकार सञ्चालन नगर्दासम्म कसले के काम गर्छ भन्ने कुरा थाहा नहुने उनले बताए। ढुङ्गेलले एमालेलाई पाँच वर्षको लागि एकल बहुमत दिएर हेर्न पनि आग्रह गरे।



