काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले नेपाल सरकारले लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नका लागि थप योजनाहरु बनाई रहेको बताएका छन्।
मुगुको छाँयानाथ रारा नगरपालिका–९ मुर्माटपमा एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स प्रालिले निर्माण गर्न लागेको रारा रिसोर्ट शिलान्यास समारोहमा बोल्दै उनले अध्यादेशमार्फत व्यवसायिक सुरक्षा र थप निजीकरणलाई उत्साहित बनाउने प्रयास भईरहेको भन्दै निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
उनले भने, ‘नेपाल सरकारले अब लगानीकर्ताहरुलाई सुरक्षा दिने र प्रोत्साहित गर्नका लागि थप योजना बनाई रहेको छ । वर्तमान सरकारले व्यवसायलाई बढावा र उत्साहित गर्नको लागि बैशाखमा लगानी सहजीकरण भए जस्तै भर्खरै पनि अध्यादेशका मार्फतबाट व्यवसायिक सुरक्षा र थप निजीकरणलाई उत्साहित बनाउने प्रयास गरेका छौँ। निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको छ।’
यसको साथै, रिसोर्टले कर्णालीको पर्यटन क्षेत्रमा नयाँ आधार स्थापना गरेको भन्दै यस्ता कार्यलाई सहज बनाउन ऐनहरु संशोधन गर्दै अगाडि बढ्नको लागि वर्तमान सरकार र मन्त्रालय प्रतिबद्ध भएर लागेको बताए ।
उनले भने, ‘यो रिसोर्टले कर्णालीको पर्यटन क्षेत्रमा एउटा नयाँ आधार स्थापित भएको छ । यस्तै प्रोजेक्टहरु सञ्चालन गर्नको लागि वन मन्त्रालयले भूमिका खेल्दै आएको छ र आगामी दिनमा यसलाई थप सहज बनाउनको लागि आवश्यक ऐनहरुको परिमार्जन गर्दै, ऐनहरु संशोधन गर्दै आगामी दिनमा वनलाई जनतासँग जोड्दै अगाडि बढ्नको लागि वर्तमान सरकार र मन्त्रालय प्रतिबद्ध भएर लागेको छ।’
निजी क्षेत्रलाई विकासमा सहभागि गराउने राज्यले लिएको नीतिको फलस्वरुप रारा जस्तो विकट क्षेत्रमा पनि रिसोर्ट बनेको पनि उनको भनाई छ।
उनले भने, ‘निजी क्षेत्रलाई जुन हिसाबले विकासमा सहभागि गराउने राज्यले नीति लियो । त्यस हिसाबले आज रारा जस्तो विकट क्षेत्रमा रिसोर्टको माध्यमबाट सेवा दिने उद्देश्य लिनुभयो त्यसले सकारात्मक रुप लिएको छ । त्यसको लागि धन्यवाद दिन चहान्छु । यसमा राजनीतिक रुपमा र सरकारले के सहयोग गरेर उहाँहरुको अभियानलाई पूरा गर्न सक्छौं । त्यता तिर सबैको ध्यान जान जरुरी छ।’



