रौतहट । रौतहट–सर्लाही जिल्लालाई जोड्ने पूर्व–पश्चिम राजमार्गमा पर्ने वागमती नदीको पुल सोमबारदेखि मर्मतको काम थालिएको छ।
सर्लाहीबाट आउदा पाँच नम्बर रौतहटबाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भासिएको थियो।
वागमती नदीको पुलको स्पर नै भासिएकाले तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमार कर्णले बताए। उनका अनुसार अहिले सवारी साधनलाई डाइभर्सनबाट संचालनमा ल्याइएको छ ।
सवारी साधनलाई आइतबार साझदेखि डाइभर्सनबाट संचालन गरेसगै सोमबार बिहानबाट पुलको मर्मत कार्य पनि संचालनमा आइसकेको उनले बताए।
अबको चार पाँच दिनमा मर्मत कार्य सम्पन्न गराएर पुल संचालनमा ल्याउने उद्देश्यबाट काम भइरहेको उनले जानकारी दिए।
उनले ‘ब्यारिङ प्याडेस्टल’को मर्मत गरी पुुलको भाँसिएको भागलाई उठाएर मात्रै ढलान गरिने बताए। पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने उनको भनाइ छ।
पुलको ४–५ नम्वर स्पानको बीचमा बिम चर्किएर समस्या आएपछि केही दिनअघि पुल महाशाखाको टोली आएर स्थलगत निरीक्षण गरेर दिएको रिपोर्टका आधारमा मर्मत कार्य सुरु गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
करिब ५५ बर्ष अघि नेपाल शोभियत संघ सहयोग अन्तर्गत वागमती नदीको पुल निर्माण भएको हो। पूर्व पश्चिम राजमार्गमा पर्ने पुल भएकाले यथाशिघ्र मर्मत गरेर संचालनमा ल्याउने लक्ष्यका साथ जनशक्ति खटिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।



