काठमाडौं । रामेछापको शैलुङका किसानलाई अहिले भ्याइ–नभ्याई छ।

शैलुङ क्षेत्रको दोरम्बा, डडुवा, गौश्वारा लगायतका क्षेत्रका किसानहरू यति बेला आलु रोप्न व्यस्त छन्।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा ४० हजार हेक्टर भन्दा बढी जमिनमा आलु खेती हुने गर्दछ। त्यहाँका किसानको मुख्य उत्पादन नै आलु हो।

शैलुङको आलुको माग बजारमा उच्च भएपछि किसानहरू थप व्यावसायिक रूपमा आलु खेतीमा लागेका छन्। परम्परागत बिउको सट्टा डडुवाको खोलाखर्कमा नै नयाँ जातको आलुको बिउ उत्पादन गरी किसानले आलुको उत्पादन बढाएका छन्।

स्थानीय किसान दावासङ्बु शेर्पाका अनुसार शैलुङका कतिपय किसानले एक सिजनमा ५÷६ लाख रुपैँयासम्मको आलु बिक्री गर्ने गर्दछन् । यहाँको आलु काठमाडौंको कालीमाटी, बल्खु, लगायतको मुख्य तरकारी बजारमा बिक्री हुन्छ। अहिले तराइमा समेत शैलुङको आलुको माग बढेको छ । आलु खरिद गर्न अहिले व्यापारीहरू किसानको घर घरमा पुग्ने भएकोले किसानलाई बिक्रीको चिन्ता छैन । यस वर्ष किसानले आलु प्रतिकिलो ६० रुपैँया किलोसम्ममा बिक्री गरे। जो राम्रो मूल्य हो।

विगतमा परम्परागत पुरानो आलुको बिउ लगाउँदै आएका किसानले हाल रोजिटा जातको रोग नलाग्ने बिउ प्रयोग गर्न लागेका छन्। मूल बिउ नै शैलुङमा उत्पादन हुने भए पछि यहाँका किसानले आलुको बिउ बिक्रीबाट समेत राम्रो आम्दानी गर्ने गरेका छन् । नयाँ बिउ लगाएपछि आलुको उत्पादन बढेको शेर्पाले बताए।

डडुवामा नै अब रोजिटा लगायत उन्नत जातका आलुको बिउ समेत उत्पादन सुरु भए पछि किसानहरू खेतीमा थप उत्साहित भएका उनले सुनाए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको