काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शहीदहरुको कारणनै वर्तमान व्यवस्था प्राप्त भएको भन्दै शहीदहरुलाई सँधै स्मरणमा राख्नुपर्ने बताएका छन्।
शहीद दिवस २०८१ समारोह कार्यक्रममा उनले नेपालमा नागरिकको स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाको लागि आफ्नो अमुल्य जीवन आहुति दिने महान शहीदहरुप्रती श्रद्धान्जली अपर्ण समेत गरे।
उनले भने, ‘नेपालमा नागरिकको स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाको लागी आफ्नो अमुल्य जीवन आहुति दिने महान शहीदहरुप्रती श्रद्धान्जली अपर्ण गर्न चाहान्छु। लोकतन्त्र र प्रजातन्त्रको लागी आफ्नो जीवनको आहुति दिएका शहीदहरु प्रति बागमती सरकार भावपुर्ण श्रद्धासुमन व्यक्त गर्न चाहान्छ। शहीदहरुको कारणनै लोकतन्त्रदेखी सबै प्राप्त भएको हो। स्वतन्त्र प्राप्तिको लागी शहीदहरुको देनलाई स्मरण गर्ने दिन पनि हो। सम्पुर्ण नेपालीहरुले आज शहीदहरुप्रति लोकतन्त्र प्राप्तिको लागि उहाँहरुको स्मरण गर्नै पर्छ भन्ने मान्यता हो।’
त्यस्तै उनले हेटौडामा रहेको शहीद स्मारकलाई पर्यटकिय स्थलको रुपमा व्यवस्थापन गर्नुपर्ने धारणा राखे।
उनले भने, ‘यो स्मारक पनि महत्वपूर्ण छ र यसले शहीदहरुप्रति पनि सम्मान भएको छ। शहीदहरुको स्मारकको रुपमा मात्र नभई यो पर्यटक स्थल बनाउनको लागी स्थापना भएको छ । यो स्मारकलाई पर्यटकिय स्थलको रुपमा व्यवस्थापन गर्नुपर्छ।’
त्यस्तै, बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मानव अधिकारको उपभोग गर्न पाउँदैगर्दा शहीदको रगतको कदर पनि गर्नुपर्ने बताए । शहीदहरुको त्यागलाई शहीद सप्ताह र शहीद दिवसका केही विचार प्रभावमा सिमित नराखी सत्मार्गको बाटोमा अघि बढि समृद्धिको ढोका उघार्नुपर्ने धारणा राखे।
उनले भने, ‘हामीहरुले कहिलै नपाएको मौलिक र मानव अधिकारको उपभोग गर्न पाएका छौ । हामीले शहीदको रगतको कदर गरेका छौ ? के हामीले शहीदको सपनालाई सिरोधार्य गरेका छौ। आज हामी हाम्रो न्याय स्वतन्त्रता, अस्तित्व र गौरवको लागी आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुलाई स्मरण गर्दै शहीदको साधकको न्यायोचित कदर गर्ने छौ भन्दै प्रण गर्नुपर्छ । शहीदहरुको त्यागलाई शहीद सप्ताह र शहीद दिवसका केही विचार प्रभावमा सिमित नराखी हामी सत्मार्गमा अघि बढि समृद्धिको ढोका उर्घानुपर्दछ।’

