काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारी क्षेत्रलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न अत्यन्तै चिन्तित र प्राथमिकताका साथ सरकार लागेको भन्दै यसलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, ‘सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न अत्यन्तै चिन्तित र प्राथमिकताका साथ सरकार लागेको छ । एक दिन पनि खाली छैनौं । जति पनि देखिएको छ त्यो भन्दा बढी नदेखेका कामहरु छन्। विश्वास गर्नु सहकारी क्षेत्रलाई आम जनताको विश्वासको क्षेत्र बनाउँछौ । यसलाई बिग्रिन दिदैनौ, यसमा हाम्रो प्रतिबद्धता हो।’
यसका साथै, उनले सहकारीको सुधार र यसलाई आम जनताले विश्वास गर्न सक्ने बनाउनको लागि सरकार सँधै सहकार्य गर्न तयार रहेको पनि बताए । उनले भने, ‘असल काम, विचारको लागि सहकारीको सुधार र यसलाई आम जनताले विश्वास गर्नसक्ने बनाउनका लागि हामी सँगै छौं। फरक छैनौ तर सरकारको पदाधिकारी भएको हुनाले कहिलेकाही कठोर बन्नुपर्छ । अध्यादेशको कुरामा सरकारले चाहे जतिको स्टेक होल्डरहरुसँग छलफल गर्न नसकेको होला तर
सरकारको आसय गलत छैन् । सरकारको काम समस्या समाधानतर्फ छ।’सहकारीबाट मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने भन्दै सहकारी ऐनको परिमार्जनको चरणमा पनि रहेको उनको भनाइ छ । उनले अध्यादेशमा तत्काल मिलाउनुपर्ने कुराहरु मिलाउने र अन्य कुरा कानून परिमार्जन गर्दै जाँदा गर्ने पनि बताए।



