बाँके : नेपाली कांग्रेसका नेता अब्दुल सतारले अब मुलुकलाई राजनीतिक स्थिरता दिएर आर्थिक समृद्धिको बाटोमा लैजाने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन् । यसका लागि देशभरका नेता-कार्यकर्ताहरु एकताबद्ध भएर लाग्न जरुरी रहेकाे उनले बताए । नेपाली कांग्रेस बाँकेले शनिवार आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
‘नेपाली कांग्रेसलाई भोलिका दिनमा जनताले चाहेको जस्तो बनाउन सकिन्छ कि सकिँदैन। नेपाली जनताको अपेक्षा अनुसारको पार्टी बनाउनका लागि हामी एकताबद्ध भएर लाग्न आवश्यक छ। नेपाली कांग्रेसले आगामी १५ वर्षमा के गर्न सक्छ भन्ने खाका तयार गरेर हामी काम गर्नुपर्छ। हिजोका दिनमा सुशासनका लागि नै लडेको नेपाली कांग्रेसले आज जति काम गर्नुपर्ने हो, त्यस अनुसारको काम गर्न सकिरहेको छैन,´ उनले भने ।
नेता सत्तारले पार्टीले सधैं सत्तामा रहेको आरोप खेपिरहेको र यसबीचमा हामी के गर्यौं भन्ने विषयलाई बुझाउनुपर्ने बताएका छन्। ‘२०५१ सालमा मुलुक गृहयुद्धमा फस्यो, त्यसबाट बाहिर निकाल्न हामीले २०६२-०६३ सम्म कुर्नुपर्यो। त्यसयताको १० वर्ष संविधान निर्माणमा बिताउनुपर्यो। अब मुलुकलाई राजनीतिक स्थिरता दिएर आर्थिक समृद्धिको बाटोमा लैजाने जिम्मेवारी कांग्रेसको काँधमा आएको ,´ कांग्रेसकाे शुभेच्छुक संघसंस्था विभाग प्रमुख समेत रहनुभएका सतारले भने,` यसका लागि देशभरका नेता-कार्यकर्ताहरु एकताबद्ध भएर लाग्न जरुरी छ।’
त्यस्तै उनले नेकपा एमालेसँग २०८४ को निर्वाचनमा जाने कुनै एजेन्डा नभएको पनि बताए । मुलुकलाई स्थिरता दिने र संविधानमा रहेका कमी-कमजोरी सुधार गर्नका लागि संविधान संशोधनको विषयलाई २०८७ मा गर्ने कुरा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु कांग्रेससँगकाे सहमति विपरीत भएकाे बताए ।

