काठमाडौं । नेपाल दृष्टिविहीन युवा सञ्जालले नेपालमा युवाको प्रतिनिधित्व तथा सहभागिताबारे हालसम्म पनि छलफल समेत सुरु हुन नसकेको गुनासो गरेको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्जालले नेपालमा मात्र नभई विश्वमा नै युवाहरुको राजनीतिप्रति इच्छा घट्दै गइरहेको अवस्थामा युवाको प्रतिनिधित्व तथा सहभागिता प्रवर्धन गर्ने उपाय सम्बन्धमा छलफल सुरु नहुनु दुखद भएको जनाएको छ।
‘नेपालको सन्दर्भमा युवाको प्रतिनिधित्व तथा सहभागिता प्रवर्धन गर्ने त्यस्ता उपाय के हुने भन्ने सम्बन्धमा हालसम्म छलफल समेत सुरु हुन नसकेको हामीले महसुस गरेका छौ । नेपालमा मात्र नभई विश्वमा युवाहरुको राजनीतिप्रति इच्छा घटीरहेको अवस्था छ । युनएनडिपी सिभिक्स इन्गेजमेन्टको प्रतिवेदन हेर्ने हो भने १८–२५ वर्षका युवा नीतिमा सहभागिता सबैभन्दा कमजोर देखिन्छ । सो को प्रभावले एउटा ठुलो समूह प्रतिनिधित्वको तहमा पुग्नबाट बन्चित भएको छ । आफ्नो सवालमा आफ्नै नेतृत्व नहुँदा युवाको प्रत्यक्ष सरोकारका विषयमा बहस आफैमा कमजोर हुन पुगेको छ ।’
त्यस्तै राजनीतिमा नजिक पुगेका युवालाई समेत अनुभव नभएका र राजनीतिक दिशानिर्देश गर्न नसक्ने भनी निरुत्साहित गर्ने काम भएको भन्दै त्यसले युवाले आ–आफ्नो उमेरमा हासिल गरेका अनुभव नीति निर्माणको प्रक्रियामा उपयोग हुन नसकेको सञ्जालले जनाएको छ । विश्वमा देखिएको लोकतान्त्रिक र समतामुलक राज्य व्यवस्थाको संचालन युवावर्गको मात्र होइन सबै सरोकारवालाहरूको चासो सम्बोधन हुनेगरी हुनुपर्ने सञ्जालको माग छ ।



