काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी)ले महिला र पुरुषबीच लैगिंक भेदभाव अन्त्य गर्न सरकार लागिपरेको बताएका छन्।

मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको लैंगिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकार महिला र पुरुषको बिचको खाडल पुर्नेगरी काम गरिरहेको बताए।

उनले भने, ‘महिला र पुरुषको बिचमा खाडल हुने अवस्था छैन। मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदनहरु गम्भिरतापूर्वक कार्यान्वयनका लागि सरकारको क्षमता अनुसार दातृ निकायहरुसँग समन्वय गरेर हामी आफ्नो समस्याहरुलाई निदान गर्ने र महिलाहरुको अवसरलाई उकासेर पुरुषको बराबरीको अवस्थामा ल्याउने दायित्व हो। आजको एक्काइसौं शताब्दीको युगमा महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन।’

लैंगिक समानताको अधिकार कै कारण युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरुको प्रगति भएको मन्त्री साहको भनाइ छ। नेपालमा पुरुष मात्र काममा जाने र महिलालाई चुलोचौकोमा थुनेर राख्ने प्रवृति रहेको उल्लेख गर्दै उनले जनचेतना फैल्याउँदै यसको अन्त्य गर्नुपर्ने बताए।

‘युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरुमा प्रगति हुनुको मुख्य कारण नै लैंगिक समानताको अधिकार हो। नेपालमा पुरुष मात्र काम गर्ने र महिलालाई खाना बनाउन मात्र राख्ने गरेको पाइन्छ। त्यो अवस्था अब हँुदैन। अब बिस्तारै चेतनाको विकास भइरहेको छ। महिला र पुरष मिलेर काम गर्ने हो भने हाम्रो देशबाट पनि छिट्टै गरिबी हट्छ,’उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको