काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर सौर्य एयरलाइन्स विमान दुर्घटनामा परी मृत्यु भएका आफन्तहरुसँग भेटेका छन्।

विहीबार अपरान्ह अस्पताल पुगेका मन्त्री पाण्डेले मृतकका परिवारलाई भेटेर पोष्टमार्टम, क्षतिपूर्तिको प्रक्रिया, विमा दाबीलगायतका विषयमा छलफल गरेका हुन्। उनले मृतकका परिवारलाई कुनै किसिमको झन्झट नदिइ सहज रुपमा प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सिआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेको थियो। दुर्घटनालगत्तै मन्त्री पाण्डे घटनास्थल पुगेका थिए। उनले जहाजका क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी पनि लिएका थिए। दुर्घटनामा परी १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्।

त्यस्तै पाण्डेले विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्ने भन्दै प्राप्त प्रतिवेदनको कार्यान्वयन पनि प्रभावकारी रुपमा गर्ने बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको