काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच आज भेटवार्ता भएकाे छ।
भेटमा चीनका तर्फबाट राजदूत ले उपप्रधान एवं शहरी विकास मन्त्री सिंहलाई बधाई सहित कार्यकाल सफलताकाे शुभकामना दिए ।
त्यस्तै भेटमा नेपाल र चीन बिचमा शहरी विकासकाे क्षेत्रमा के के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएकाे थियाे । नेपाल र चीनकाबीचमा शहरी विकासकाे क्षेत्रमा कुन कुन विषयमा सहकार्य हुनसक्छ । अहिले के भइरहेकाे छ भन्नेबारेमा सामान्य समीक्षा भयाे,´ भेटबारे जानकारी गराउँदै शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, हामीले स्मार्ट सिटि बनाउने भनेका छाैं । स्मार्ट सिटि बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जाेड्न सक्छाैं । ट्राफिक लाइट, राेड सेफ्टीजस्ता कुरामा चीन सरकारले सहयाेग गर्न सक्छ भन्ने कुरा भयाे ।
हामीले चीनसँग सिमाना जाेडिएका हिमाली क्षेत्रमा १० वटा हिमाली शहर बनाउने भनेर राखेका छाैं । त्यसमा पनि चीन सरकारले सहयाेग गर्न सक्छ भन्ने कुरा उहाँहरूले राख्नुभयाे । त्यस्तै रूकुम र जाजरकाेटमा अघिल्लाे वर्ष गएकाे भूकम्पपछिकाे पुननिर्माणमा समेत सघाउन तयार रहेकाे राजदूतले भेटका क्रममा बताएका थिए ।



