काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा कीर्ते कागजातमा संलग्न व्यक्तिलाई नै प्राध्यापक बनाउने खेल राेक्न माग गरिएकाे छ ।पूर्वस्वतन्त्र विद्यार्थी युनियन संघका संयोजक चाउएन लाई श्रेष्ठले बिहिबार विज्ञप्ति जारी गर्दै यस्ताे माग गरेका हुन् । उनले २०८१ असार १४ गतेका लागि तोकिएको समाजशास्त्र विषयको अन्तर्वार्ता स्थगन गरी अविलम्ब छानविन समिति गठन गर्न पनि माग गरेका छन् ।

प्रेस विज्ञप्ति
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट आर्थिक वर्ष २०७७।७८ मा प्रकाशित आन्तरिक प्रतियोगिताको माध्यमबाट प्राध्यापक तथा सहप्राध्यापक पदहरुको पदपूर्तिको लागि गरिएको समाजशास्त्र विषयको परीक्षामा स्वयम् परीक्षार्थीहरुले कीर्ते कागजात प्रयोग गरी प्राध्यापक बन्ने बाटो रोज्नु विश्वविद्यालयको निम्ति सबैभन्दा ठूलो दुर्भाग्य हो । आजको विश्वव्यापीकरणको युगमा बौद्धिक चोरीलाई एक जगघन्य अपराधको रुपमा लिइन्छ । अझ विश्वविद्यालयको उपप्राध्यापकहरु यसमा संलग्न हुनुले प्राध्यापकहरुको प्राध्यापकीय चिन्तन माथि नै प्रश्न चिन्ह खडा भएको छ ।

विगत दुई वर्षदेखि नेवि संघ लगायत विभिन्न विद्यार्थी संगठनहरुले समाजशास्त्र विषयको परीक्षामा कीर्ते कागजात प्रयोग भएको भन्दै ज्ञापन पत्र समेत बुझाएको अवस्थामा त्यसलाई लत्याएर गलत नियतले कीर्ते कागजातमा संलग्न व्यक्तिलाई नै प्राध्यापक बनाउने दुर्गन्धित खेललाई रोकी अविलम्ब छानविन गरी दोषी उपर कारवाही गर्न जोडदार माग गर्दछौं साथै २०८१ असार १४ गतेका लागि तोकिएको समाजशास्त्र विषयको अन्तर्वार्ता स्थगन गरी अविलम्ब छानविन समिति गठन गर्न चेतवानी दिन चाहन्छौ । अन्यथा सेवा आयोग मात्र होइन विश्वविद्यालय पदाधिकारी विरुद्ध समेत सशक्त आन्दोलनमा उत्रने चेतावानी दिन चाहन्छौं ।

संयोजक
चाउएन लाई श्रेष्ठ
पूर्वस्वतन्त्र विद्यार्थी युनियन संघ

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर