काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिको शान्तिपूर्ण आन्दोलनमा प्र्रहरीको धरपकड र दमन प्रति समितिले भत्र्सना गरेको छ । काठमाडौं महानगरपालिकाको डोजर आतंक बिरुद्ध निरन्तर प्रदर्शनमा रहेका कवाड व्यवसायीमाथि आज प्रहरीले लाठी चार्ज गर्दा आन्दोलनकारी घाईते भएका छन् ।

प्रहरीको लाठीचार्जबाट आन्दोलनकारीहरु कमोद प्रसाद साह, राजु महतो, केदार साह, नन्दकिशोर यादव गम्भीर घाईते हुनुको साथै अन्य दर्जनौं आन्दोलनकारीहरु घाईते भएका छन् । उनीहरुको काठमाडौं स्थित बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

‘काठमाडौं महानगरपालिकाको डोजर आतंकविरुद्ध आज हजारौंको संख्यामा उपस्थित कवाड व्यवसायीहरुको विशाल प्रदर्शनमाथि प्रहरीको धरपकड र दमन भएकोप्रति संघर्ष समितिको घोर आपत्ति छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा राजाको प्रत्यक्ष शासनको झल्को दिनेगरि न्यायसंगत माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीको निर्मम आक्रामण र दमन निन्दनीय छ । कवाड व्यवसायीले उठाएका मागहरु देशको शान्ति, सुरक्षा एवं कानुनी शासनसंग सम्बन्धित रहेकोले यसलाई तत्काल सम्बोधन गर्नुकोसट्टा राज्यले यसरी प्रहरी लगाएर आन्दोलनकारीमाथि दमन गर्नु लोकतन्त्रको उपहास हो’ समितिद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

अदालतको आदेश विपरित कवाड व्यवायीहरुमाथि काठमाडौं महानगरपालिकाले व्यवसायीहरुको फर्म तोडफोड गर्न थालेपछी शान्ति सुरक्षाको प्रत्याभूतिको मागसहित कवाड व्यवसायीहरु आन्दोलनमा छन् ।

‘छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नारासहित महानगरपालिकाको कार्यालय अगाडि शान्तिपूर्ण घेराउ एवं प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । रिङरोड एरियामा कवाड व्यवसाय गर्न नदिने काठमाडौं महानगरको निर्णयलाई चूनौती दिँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अदालतको आदेशको समेत अवज्ञा गरेको बताएका छन् । कवाड व्यवसायीहरुलाई तत्काल नहटाउन अदालतले दिएको अन्तरिम आदेशको बेवास्ता गर्दै महानगरले कवाड व्यवसायीको टहराहरुमा डोजर चलाएको व्यवसायीहरुको गुनासो छ ।

आफूहरुको रोजगार गर्न पाउने हकको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीले जनाएका छन् । कवाड ब्यवसायीहरुले महानगर प्रमुख शाहको राजीनामासमेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको