काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्ला राजनीतिक गतिविधिहरूले एमाले माओवादी गठबन्धनले अधिनायकवादी छनक देखाएकाे बताएका छन् । आफूलाई भेट्न आएका पार्टीका गण्डकी प्रदेश संसदीय दल नेता सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभा सदस्यहरूसँग बुधबार बूढानीलकण्ठस्थित निवासमा कुराकानी गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। गण्डकी प्रदेशमन ६० मा ३० बहुमत भन्दै एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएपछि कांग्रेसले सर्वाेच्च अदालतमा रिट दायर गरेकाे छ । देउवाले विधि पद्धति बाहिर गएर भएका निर्णयमा खबरदारी जारी राख्न पनि निर्देशन दिए ।
सत्तारूढ एमाले र माओवादीतर्फ लक्षित गर्दै सभापति देउवाले ‘कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय’ देखा परेको बताएकाे भेटका सहभागी प्रदेश सभा सदस्य डिल्लीराम सुवदीले जानकारी दिए । सभापति देउवाको बोली उधृत गर्दै प्रदेश सांसद सुवेदीले भने, ‘कम्युनिस्टहरु सत्ता कब्जाको शैलीमा छन् । तपाईंहरु कुरा बुझ्नुस् । सत्ता कब्जा गर्ने मनोविज्ञानसँग हामी लड्नुपर्नेछ । लड्न तयार हुनुस् ।’ गण्डकीमा प्रदेश सरकारले विश्वासको मत लिनका लागि अदालतको फैसला अस्वाभाविक देखिएको सांसदहरुले सभापतिसँग कुरा राखेका थिए ।
मंगलबार बसेकाे सर्वदलीय बैठकमा पनि केपी ओलीले कांग्रेस प्रमुख सचेतक रमेश लेखकलाई बाेल्न राेकेपछि देउवाले प्रतिवाद गरेका थिए ।



