काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश र कानून ब्यवसायी विरुद्ध भ्रामक समाचार सामग्री तयार पारेर प्रसारण गरेकाे भन्दै ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानल तथा त्यसका प्रकाशक र सम्पादकविरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दा दायर गरेको छ । सर्वोच्चले ‘सोमोटो’ तयार पारी अवहेलना मुद्दा दायर गरेको हो । उक्त मुद्दाको पेसी सोमबारका लागि तोकिएको छ।
सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले आइतबार उक्त अनलाइन र त्यसका प्रकाशक तथा सम्पादकविरुद्ध अवहेलना मुद्दा दायर गराएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमाेहन भट्टराईलाई समेत जोडेर तयार पारेको समाचार तथा युट्युब भिडियो सामग्रीबारे प्रतिवेदन तयार पारेर घिमिरेले अवहेलना मुद्दा दर्ता गराएका हुन् । ‘प्रस्तुत विषयमा सिधा कुरा नामक युट्युब लगायतका सामाजिक सञ्जालबाट मिति २०८१।०१।१४ गते र तत्पश्चात् श्रृंखलाबद्ध रूपमा अपलोड गरी प्रशारित चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसनसमेतका शीर्षक राखी प्रशारित कपोलकल्पित भ्रामक तथा नियोजित ढंगले प्रसारित सामाग्रीले नेपालको संविधानको धारा १२८(४) न्याय प्रशासन ऐन, २०७३ को दफा १७(१) बमोजिम न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गरी अदालतको अपहेलना गरेको तथा स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्याएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ (३) बमोजिम प्रस्तुत प्रतिवेदन पेस गरेको छु,’ अदालतमा पेस गरिएको प्रतिवेदनमा भनिएको छ, ‘सो कार्यमा संलग्न काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारमा कार्यालय रहेको सिधा कुरा डटकम अनलाइनका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना लगायत उक्त कार्यमा संलग्न सबैलाई अदालतको अवहेलनामा हदैसम्म सजाय गरी पाउँ।’
हेर्नुस् रिट निवेदन





