काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

अदालतले एकजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले शुक्रबार ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो।

दिपेश पुन, नवीन अछामी, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर र रोशनी गुरुङलाई धरौटीमा छाड्न आदेश दिइएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए। पुनलाई चार लाख, अछामीलाई १० लाख, चापागाईंलाई १८ लाख, न्यौपानेलाई चार लाख ४५ हजार र थापामगर र गुरुङलाई दुई÷दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको उनले बताए।

सुप्रिम सहकारीबाट झन्डै पौने दुई अर्ब ठगी भएको ठहर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। सो प्रकरणमा २८ जनालाई मुख्य अभियुक्त बनाइएको छ। मुद्दामा एक हजार दुईजनालाई थप प्रतिवादी बनाइएको छ।

त्यस्तै यता, कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश भएको छ। जीबी राईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ । वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको थियो। ओखलढुङ्गा घर भएका राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको