काठमाडौँ। साविक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ।
सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै समूह ‘बी’ मा रहेको नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो।
हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै ११७ रन बनायो।
नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४० रन बनाए। १८ बल खेलेका उनले ३ चौक र ३ छक्का प्रहार गरे।
यस्तै, कुशल भुर्तेलले १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए। पहिलो विकेटको लागि आशिफ र कुशलले ७० रनको साझेदारी गरेका थिए।
कप्तान रोहितकुमार पौडेल २५ र सन्दीप जोरा १९ रनमा अविजित रहे। हङकङका इशान खान र यासिम मुर्तजाले १/१ विकेट लिए।
त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस हारेर पहिला ब्याटिङ थालेको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाए।
हङकङका अन्श्या रथले सर्वाधिक ३४ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।
जिशान अली १४, निजाकत खान १२ र एहसान खान ११ रनमा आउट हुँदा आयुष शुक्ला ६ रनमा अविजित रहे।
नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिए।
त्यस्तै, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले २/२ लिँदा करण केसीको नाममा १ विकेट रह्यो।
जितसँगै नेपालले ३ खेलबाट अपराजित रहँदै ६ अंक जोडेको छ। ३ खेलबाट १ जितसहित २ अंक जोडेको हङकङ भने प्रतियोगिताबाट बाहिरिएको छ।



