काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद साहले आफैंले प्राथमिकतामा राखेको छु भनेर घोषणा गरेको सो विधेयक कहाँ छ ? भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न समेत गरेका छन् ।
आजपा अध्यक्ष साहले प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री बन्ने क्रममा संक्रमणकालिन न्याय सम्बन्धि विधेयक र संवैधानिक परिषद लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताएपनि सो अनुसार काम हुन नसकेको बताए ।
सम्बोधनको क्रममा उनले सरकारले भनेका उच्च प्राथमिकताका विधेयकहरु कहाँ छन् ? भन्ने प्रश्न गर्दै उनले भने, ‘प्रधानमन्त्री बनिराख्दा त्यतिवेला सम्माननीय प्रधानमन्त्रीज्यूले यो सदनमा भन्नुभएको थियो कि संक्रमणकालिन न्याय टुँगो लगाउँछु भन्नुभएको थियो । संवैधानिक परिषदसम्बन्धी विधेयकपनि उच्च प्राथमिकतमा छ भन्नुभएको थियो । ती विद्येयकहरु कहाँ छन् भनेर सोध्न चाहन्छु । के हामीले यो संसद्लाई साँच्चिकै प्रभावकारी बनाईराखेका छौं ? हामी सांसदहरुले आफ्नो क्षमतालाई माथि उठाइराखेका छौं त ?’
उनले सांसदहरुले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताव र विशेष प्रस्तावलाई समेत संसदले महत्व नदिएको गुनासो गरेका छन् ।
‘अहिले संसदको विधेयक अधिवेशन करिब करिब अन्तिम चरणमा छ । केही दिनपछि यो संसदको अधिवेशन अन्त्य हुन्छ । हामी आफ्नो निर्वाचन क्षेत्रमा जान्छौं । जनतामा जान्छौं । जनतामा जाँदा हामीले के भन्ने ? संसदको यो अवधिमा हामीले के के गर्यौं ? सभामुखज्यू, जनतालाई के काम गर्यौं भनेर सुनाउने ?’ आजपा अध्यक्ष साहले भने, ‘निर्वाचनपछि झण्डै तीन वटा अधिवेशन भैसकेको छ । अहिलेसम्म हामीले चार वटामात्रै विद्येयक पारित गर्यौं । ती विधेयकपनि (संशोधन) केही दफा संशोधनसम्बन्धी पारित गर्यौं । त्यसमा पनि विगतमै उत्पति भएका विधेयकहरु पारित गर्यौं । के यही सुनाउन जाने जनतामा ? सरकारले जम्मा १९ वटा विद्येयक ल्याएको देखियो । हामी सांसदहरुले दर्ता गराएका सार्वजनिक महत्वको जरुरी प्रस्तावले पनि महत्व पाएनन् । विशेष प्रस्तावले पनि महत्व पाएन ।’
पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले विषय विज्ञहरुलाई सांसदको स्वकिय सचिव नदिएकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुलाई विज्ञ कर्मचारी दिन माग गर्दै उनले छानिएर आएकाहरुलाई जान्ने बनाउनको लागि पनि कर्मचारी दिन उनको सुझाव छ । उनले सांसदहरुको क्षमतालाई माथि उठाउने काममा सदनको ध्यान जानुपर्नेमा जोड दिए ।
सांसद साहले सांसदहरुलाई दिईएको स्वकिय सचिवको काम के हो भनेर सभामुखसँग प्रश्न सोधेका छन् । ‘स्वकिय सचिवको काम के हो ? यदि काम छैन भने राखेर के काम ? कि त पिएहरुलाई फिर्ता गर्नुपर्यो कि त उनीहरुलाई काम दिनुपर्यो । माननीय सदस्यहरु विधेयकमा बोल्ने भनेको विज्ञ हुनुपर्छ कि पर्दैन ?’ साहले भने, ‘हामी हेरिरहेका छौं कि सांसदहरु बसेर काम गर्ने ठाउँ छैन् । दलको अफिस छ, कुनै कार्यकक्ष होईन । यहाँ लविमा बस्नुहोस, या लाईब्रेरीमा जानुहुन्छ, बस्ने ठाउँ छैन् । के पढ्ने ? के बुझ्ने अनि के बोल्ने भन्ने प्रश्न आउँछ । हामी सांसदहरुलाई तमाशा बनाईराख्ने हो र ? हुर्मत लिने हो र ?’
सांसद साहले कतिपयले जान्नेलाई छान्नुपर्छ भनेको कुरा उल्लेख गर्दैै जान्नेहरुको पनि हालत हेरिएको टिप्पणी गरे । ‘कयौंले भन्छन् कि जान्नेलाई छान्नुपर्छ भनेर । हामीले त जान्नेहरुको पनि हालत हेरेकै छौं । एउटा विषयको पिएचडी हुँदैमा सबै विषयको विज्ञ हुनैसक्दैन् । त्यो छानेकालाई जान्ने बनाउने कि नबनाउने भन्ने प्रश्न आउँछ । यी सांसदहरुलाई विज्ञको सुविधा दिनुहोस । कर्मचारीहरुको कमी छैन् । यत्तिकै कामविहीन भएर कर्मचारीहरु बसिरहेका छन् । सांसदलाई हामी एउटा उपसचिव दिन सक्दैनौं ? एउटा सांसदलाई पाँच वटा विज्ञ दिन सक्दैनौं ? यहाँ एउटा विषयमा बहस हुँदा अर्कै विषय उठाउँदा संसद् र सभामुखको पनि मानमर्दन हुन्छ कि हुँदैन् ? यो विषयले हामीलाई छुँदैन र ?’ उनले प्रश्न गरे ।



