काठमाडौं । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको आइतबार बसेको केन्द्रका पदाधिकारीको बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको नेता चक्रपाणी खनालले बताए। उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई हुन्।

पदाधिकारी बैठक राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुंग्याउने विषयमा केन्द्रित रहेको उल्लेख गर्दै खनालले बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय भएको बताए।
‘एउटै एजेण्डामा पदाधिकारी बैठक बसेको हो। राष्ट्रिय सभाका अध्यक्ष चयनका विषयमा बैठक केन्द्रित थियो। नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो,’ उनले भने, ‘पदाधिकारी बैठकमा व्यापक छलफल भयो, ६ वर्षलाई आधार बनाएर नीतिगत रुपमा छलफल गर्नुपर्छ भन्ने पनि थियो। अन्तिममा नारायण दाहालको नाममा सहमति भयो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते सदनमा विश्वासको मत लिनेबारेमा पनि छलफल भएको पनि प्रक्रियामै रहेको खनालले बताए।

दाहाल भर्सेस शर्मा
कांग्रेसले यसअघि राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस संसदीय दलका बैठकले लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै राष्ट्रिय सभा अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहाल प्रतिस्पर्धी बन्ने भएका छन्।

५९ सदस्यीय राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ। उसको उपाध्यक्षसहित १८ सांसद छन्। यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल हो। एमालेबाट १० जना सांसद छन्। एकीकृत समाजवादी ८, जसपा ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना तथा वामदेव गौतम गरी ५८ सांसद छन्। एक जना भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ।

यसरी वर्तमान गठबन्धनमा रहेका पाँच दल माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा मिल्दा अध्यक्षको पक्षमा ३९ मत झर्छ। तर राष्ट्रियसभाको अध्यक्ष बन्नका लागि २९ संसदको मत मात्र चाहिन्छ। यता विपक्षमा १९ मत मात्र छ। यसो हुँदा राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल अध्यक्षमा निर्वाचित हुने निश्चितप्रायः छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको