काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद श्याम घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई मात्र नभइ नेपाली जनतालाई समेत धोका दिएको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेससँग एक वर्ष सहकार्य गरेपछि एमालेसँग सत्ता समीकरण बनाएर दाहालले आफ्नो व्यक्तिगत स्वार्थका लागि नेपाली जनतालाई धोका दिएको सांसद घिमिरेले आरोप लगाएका हुन्।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै घिमिरेले भने, ‘दाहालले एमालेसहतिको गठबन्धनबाट प्रधानमन्त्री भएपछि कांग्रेसतिर आउनुको कारण के थियो ? चुनावको बेला जनतासामु गएर त प्रतिवद्धता जनाउनु भएकै हो नि १० वर्षसम्म यो गठबन्धन कायम गर्छौं भनेर। के कारणले वाचा तोडेर एमालेसँग मिल्न जानुभयो ? के कारण थियो पछि एमालेलाई छोडेर कांग्रेसतिर आउनुभयो ? अब के कारण छ कि कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिल्न जानुभयो ? प्रचण्डले नितान्त आफ्नो नीजि स्वार्थका निम्ति गठबन्धन फेरबदल गर्नुभएको हो। यो हामीलाई दिएको धोका नभइ आम जनतालाई धोका दिएको भनेर हामीले बुझेका छौं।’ प्रधानमन्त्री प्रचण्डले आफैंले म बाँचुञ्जेल देशमा उथलपुथल भइरहन्छ भन्नुको अर्थ राजनीतिक अस्थिरताको कारण मै हुँ भनेर पुष्टि गरेको बताउँदै सांसद घिमिरेले प्रचण्ड बाँचुञ्जेल देशमा स्थिरता र शान्ति कायम नहुने कुरामा सबै स्पष्ट भए हुनेभयो।

नेपाली कांग्रेस र एमाले नेताहरुको सत्तालिप्साका कारण प्रचण्डलाई बोकिरहनु परेको घिमिरेको भनाई छ। सांसद घिमिरेले भने,‘एमाले र कांग्रेसका नेताहरुको सत्ता लिप्साका कारण प्रचण्डलाई बोकिरहनुपरेको छ। हिजो गठबन्धन गरेर चुनाव लड्नुलाई म गलत भन्दिनँ। एमालेसँग गैसकेपछि फर्काएर ल्याउनु नेपाली कांग्रेसको सत्तालिप्सा थियो। त्यही सत्तालिप्सामा एमाले कांग्रेसभन्दा बढि देखिएको छ। अहिले न एमालेलाई लाज भयो न सरम।’ प्रचण्ड फेरि फर्किएर कांग्रेससँग आउने हो भने अँगालो हालेर स्वागत गर्न तयार हो त ? भन्ने प्रश्नमा उनले भने, ‘म यदि नेपाली कांग्रेसको सभापति हुन्थे भने अबको चार वर्षसम्म कसैसँग गठबन्धन गरेर सरकारमा जाने कुरा सोच्दा पनि सोच्दैन थिएँ। नेतृत्वमा अरु नेता छन्। उहाँहरुको विचार के छ थाहा भएन। तर कांग्रेसको नेता भएको नाताले यो मेरो नितान्त व्यक्तिगत विचार हो । अब हामीले दरो प्रतिपक्षी भूमिकामा बस्नुपर्छ। खरो प्रस्तुत हुनुपर्छ।

संघीयताले प्रचण्ड प्रवृत्तिलाई मलजल गरेको छ। यसबारे सोच्नुपर्छ। समानूपातिक प्रणाली हटाउनुपर्छ। यो मुलुक एक मात्र हिन्दु धर्म अपनाएको मुलुक हो। यो पवित्रस्थल निर्माण गर्नुपर्छ। धार्मिक पर्यटनसँग जोड्नुपर्छ।’ नेपाली कांग्रेलले संघीयता, समानुपातिक प्रणाली, धर्म र आर्थिक बिषयमा स्पष्ट दृष्टिकोण राख्नुपर्ने उनको तर्क छ।
अहिले आएर नेपाली कांग्रेस गठबन्धनबाट स्वतन्त्र भएको भन्दै उनले सभापति शेरबहादुर देउवा सात पटक प्रधानमन्त्री हुने लोभमा नलागेकोे उनको भनाई छ।
नेता घिमिरेले भने, ‘सभापति देउवा सात पटक प्रधानमन्त्री हुने लोभमा हुनुहुन्छ जस्तो मलाई लाग्दैन। अहिले कसैैले पनि लोभ गर्नुपर्ने अवस्था छैन। लोभ नगर्न आग्रह गरेका छौं।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको