नेपाल ट्रेड युनियन कांग्रेस आजबाट ७८ औं वर्षमा प्रवेश गरेको छ। राणा सरकारको अधिनमा रहेको विराटनगर क्षेत्रका उद्योगहरु नाफामा चलिरहेको भए पनि श्रमिकहरु न्यून पारिश्रमिक र शोषित थिए।
उद्योग व्यवस्थापनको यहि शोषणको विरुद्ध श्रमिकको पारिश्रमिकमा वृद्धि, आवासको व्यवस्था, सुरक्षित कार्यस्थल र मजदुर युनियन खोल्न पाउनुपर्ने माग राखी वि.सं. २००३ साल फागुन २१ गतेदेखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर क्षेत्रका श्रमिकहरुले हडताल शुरु गर्यो। त्यहि श्रमिक आन्दोलनको जगबाटै सत्यग्रह हुँदै १०४ वर्षे निरंकुश राणा शासन फाल्न सफल भयो।
गिरिजाप्रसाद कोइराला अध्यक्ष रहेको नेपाल मजदुर संघ २०४७ सालमा नेपाल ट्रेड युनियन कांग्रेसको नाममा पुनर्गठन भयो। पटकपटक राजनीतिक आन्दोलनमा समय खर्चनु परेको ट्रेड युनियन कांग्रेसले पुनर्गठनपछि मात्र श्रमजीवीको हकहितमा काम गर्न पाए। पुनर्गठनपछि युनियनले श्रमिक हकअधिकार, सामाजिक सुरक्षा, न्युनतम पारिश्रमिक, सुरक्षित कार्यस्थल, लैङ्गिक समानता, मर्यादित रोजगारी, औद्योगिक सम्बन्ध, आप्रवासी श्रमिक अधिकार लगायत श्रमिकको जीवन स्तर माथी उठाउन क्रियासिल रहदै आएको छ।
ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले ७८औं स्थापना दिवसको अवसरमा शुभकामना विज्ञप्ति जारी गर्नु हुँदै श्रमिक आन्दोलनले सात दशक पूरा गरेपनि श्रमजीवीको मुद्दा पुरा नभएको बताउनुभएको छ। विज्ञप्तिमा भनिएको छ”– श्रमिक आन्दोलनले सात दशक पुरा गरेको छ। तर हरेक लोकतान्त्रिक आन्दोलनहरुमा महत्त्वपूर्ण योगदान गरेका श्रमजीवीलाई राजनीतिक दलहरूले सत्तामा पुगेपछि बिर्सने काम भएको छ।
व्यवस्था परिवर्तन भए पनि श्रमिकको अवस्थामा परिवर्तन आएको छैन।” यसैगरी सबै श्रमिकलाई सामाजिक सुरक्षा, श्रम ऎनको प्रभावकारी कार्यान्वयन, मर्यादित रोजगारी, संगठन स्वतन्त्रता, प्रभावकारी सामाजिक संवाद, लैङ्गिक विभेदको अन्त्य, आप्रवासी कामदारको अधिकार र नीतिनिर्माण तहमा श्रमिक प्रतिनिधित्वकालागि थप सशक्त भएर लाग्ने विज्ञप्ति उल्लेख छ।
अध्यक्ष कुँवरले कामको संसारमा आएको परिवर्तन र श्रम बजारका विभिन्न चुनौतीहरुको सामना गर्न आगामी दिनमा संगठन विस्तार , सुदृढीकरण, प्रशिक्षण र परिचालनमा तीव्र हुने बताउनुभयो । ट्रेड युनियन कांग्रेसले ७८ औं स्थापना दिवसको अवसरमा आज १ बजेदेखि ४ बजेसम्म केन्द्रीय कार्यालय अनामनगरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको स्थापना दिवस कार्यक्रमका संयोजक एवं ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले बताउनुभयो।
यसवर्षको स्थापना दिवस कार्यक्रममा सबै सरोकारवालाहरुलाई निमन्त्रणा गरे पनि नेपाली कांग्रेसका नेताहरूलाई भने निमन्त्रणा गरेका छैनन्। यस घटनाबाट नेपाली कांग्रेस र ट्रेड युनियन कांग्रेसबीच खटपटको अवस्था रहेको देखिन्छ।



