काठमाडौं : अखिल क्रान्तिकारीकि अध्यक्ष पञ्चा सिंहले आफूविरूद्द १५ वर्षअगाडी कर्तव्य ज्यान मुद्दा दायर भएकाे बारे आफुलाई थाहा नभएकाे बताएकी छन् । नागरिक दैैनिकले सिंह १५ वर्षदेखि फरार अभियुक्त रहेकाे खबर लेखेपछि सिंहले फेसबुकमार्फत प्रष्ट पारेकी हुन् ।
`१५ बर्ष अगाडि मेराे नाममा कर्तव्य ज्यान मुद्दा दर्ता भएको विषय मलाई समेत जानकारी नभएको सन्दर्भमा मेराे पार्टीलाई जानकारी नभएको र पार्टीको तर्फबाट प्रहरी प्रशासनलाई कुनै पनि दवाव प्रभाव नरहेको कुरा जानकारी गराउँदछु,´उनले लेखेकी छन्, `१५ बर्ष अगाडि घटना कसरी घट्याे किन घट्यो कसको कारणलेे घट्याे भन्ने वारेमा न्यायिक र सत्य तथ्य छानवीन हाेस यसमा मेराे सहयाेग रहनेछ । स्थानीय राजनीतिक प्रतिशाेधका आधारमा झुट्टा मुद्दा दर्ता गरिएको विषय याे घटनाकाे सत्यता उजागर भए संगै सार्वजनिक हुने नै छ। ´
उनले आफ्नो राजनीति जीवन शुरु भएसंगै हरेक चरण षड्यन्त्रपुर्ण रुपमा कथाहरु तयार गर्ने र आराेपित गर्ने दुस्प्रयत्न भएकाे भन्दै अहिलेकाे घटना आराेपहरुकाे उत्कर्षकाे रुपमा रहेकाे बुझेकाे छु र यहि अनुरुप सामना गर्न पनि तयार रहेकाे बताएकी छन् ।
घटना के थियाे ?
नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार १५ वर्षअघि सुर्खेतको वीरेन्द्रनगरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर भएको विवादमा जन माविमा अध्ययनरत कालिकोटका युवक राजबहादुर मल्ल (१७)को हत्या भयो। उनलाई तत्कालीन माओवादीको जनमुक्ति सेनाको छैठौं डिभिजनमा कार्यरत लडाकु र माओवादी निकटको अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले हत्या गरेका थिए।
छोराको हत्यापछि बुवा नन्दबहादुर मल्लले किटानी जाहेरी दिए। घटना भएको १५ वर्ष हुँदा पनि अहिलेसम्म अभियुक्तहरू पक्राउ पर्न सकेका छैनन्। यो अवधिमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३१ वटा अनुसन्धान टोली गठन गर्यो।
प्रहरीका अनुसार हत्या घटनामा माओवादीनिकटको अखिल क्रान्तिकारीका हालका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहितका माओवादीका नेता–कार्यकर्ताको संलग्नता छ। २०७९ साउन १३ गते मृतकका बुवाले प्रहरीमा दिएको जाहेरी अनुसार क्रान्तिकारीका अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताहरूले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत क्याम्पसमा भर्ना भएका थिए।
‘यो विषयमा मेरो छोराले आवाज उठायो, उनीहरूको भर्ना रद्द भयो,’ जाहेरीमा भनिएको छ, ‘त्यसपछि मेरो छोरालाई सिंहको नेतृत्वमा मार्ने योजना बनेको देखिन्छ।’
सुर्खेत आएको केही समयपछि २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेका राजबहादुरमाथि आक्रमण भयो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको बुद्धपथको देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो।
प्रहरीका अनुसार कालिकोटको महावै गाउँपालिकाका प्रतिमा भन्ने पञ्चा सिंह, टाइगर भनिने पदमबहादुर रावत, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीको संलग्नता देखिन्छ।
घटनापछि हालसम्म प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३१ जनालाई अनुसन्धान अधिकारी तोकेको छ। सबै अनुसन्धान अधिकारीहरूलाई कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरेर कार्यालयमा हाजिर गराउनु भनिएको छ।



