काठमाडौं । कुनै समय काठमाडौं छिर्ने नाका थानकोटमाथिको सैन्य आक्रमणको नेतृत्व गरिरहेका एक युवा, आज तिनै नाकाहरूबाट भित्रिने नीति र विधिको निर्माण गर्ने थलो संसद्मा पुगेका छन्। तत्कालिन माओवादी जनसेनाका कुशल कमान्डर युवराज दुलाल शरदको जीवनकथा कुनै रोमाञ्चक फिल्मको पटकथाभन्दा कम छैन।
१४ वर्षको कलिलो उमेरमा विद्यालयको कक्षाकोठा छोडेर क्रान्तिकाे राँको बोकेका शरदको यात्रा सिन्धुपाल्चोकको विकट गाउँदेखि प्रदेशमन्त्री हुँदै प्रतिनिधि सभाकाे सदस्य बन्दासम्म धेरै घुम्तीहरू पार भएका छन्। फागुन २१ काे निर्वाचनमा दुलाल सिन्धुपाल्चाेक २ बाट निर्वाचित भएका छन् ।

बन्दुकले डोर्याएको यात्रा
०५५ सालमा एसएलसी दिएपछि परिवारको चाहना उनलाई डाक्टर इन्जिनियर बनाउने थियो। उनी विज्ञान पढ्न काठमाडौं आए, पाटन क्याम्पसमा भर्ना पनि भए। तर, देशमा चर्किएको सशस्त्र विद्रोहको रापले उनलाई शान्त बस्न दिएन। ०५६ सालमा आइकमको परीक्षा दिँदा नदिँदै उनी भूमिगत भए।
त्यसपछिको उनको पहिचान कमान्डर शरद बन्यो। उनले सोलुखुम्बुको सल्लेरी आक्रमणदेखि काठमाडौंको प्रवेशद्वार थानकोटसम्मका सैन्य अपरेसनको नेतृत्व गरे। सल्लेरी आक्रमणमा कोड भाषाको अलमलले युद्धको नतिजा बदलिएको र आफ्ना सहयोद्धा गुमाउनुपरेको पीडादायी संस्मरण अझै उनीसँग ताजा छ। शान्ति प्रक्रियापछि उनले पार्टीका सर्वोच्च कमाण्डर प्रचण्डको सुरक्षा दस्ताको नेतृत्व समेत सम्हाले, जसले उनको संगठनात्मक र सुरक्षात्मक कुशलतालाई पुष्टि गर्थ्यो।

मन्त्रीका रूपमा सफल दरिएका शरद
शान्ति प्रक्रिया र राजनीतिक संक्रमणपछि शरदको भूमिका बदलियो। सैन्य कमान्डरको बर्दी फुकालेर उनी जनताको सेवाको सिटिभिलियन पोसाकमा आए। बागमती प्रदेशको सामाजिक विकास मन्त्रीका रूपमा उनको कार्यकाल निकै चर्चामा रह्यो।
विशेषगरी स्वास्थ्य र शिक्षा क्षेत्रमा उनले चालेका कदमहरूलाई धेरैले प्रशंसा गरे। उनले मन्त्री हुँदा एक विद्यालय, एक नर्स कार्यक्रम, स्वास्थ्य बिमाको प्रभावकारिता र प्रदेशका अस्पतालहरूको स्तरोन्नतिमा देखाएको सक्रियताले उनलाई कुशल मन्त्रीको छवि दिलायो। युद्धमा ध्वंसको नेतृत्व गरेका शरदले सरकारमा रहँदा निर्माण र सेवाको कमान्ड सम्हाल्न सक्छन् भन्ने प्रमाणित गरिदिए।
संसद्मा जनमतको प्रतिनिधित्व
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएपछि उनले बागमती प्रदेश सभामा सशक्त सांसदका रूपमा भूमिका खेले । नीति निर्माण तहमा उनको उपस्थिति केवल राजनीतिक प्रतिनिधित्व मात्र होइन, बरु युद्ध र शान्ति दुवै प्रक्रिया भोगेको एउटा परिपक्व नेतृत्वको आवाज पनि हो।सदनमा जनताका समस्या उठाउँदा होस् वा प्रदेश सरकारका कमीकमजोरी औंल्याउँदा, शरदको प्रस्तुति सधैं तार्किक र जुझारु देखिन्छ। संघीय संसदमा पनि उनकाे भूूमिका महत्वपूर्ण हुने ठानिएकाे छ ।
युवराज दुलाल शरदको यात्राले एउटा कुरा स्पष्ट पार्छ- समय र परिस्थितिले मानिसको भूमिका बदल्न सक्छ, तर इमान्दारिता र कार्यकुशलता भएमा जुनसुकै मोर्चामा पनि सफल हुन सकिन्छ। हिजो युद्धको कमान्डर भएर व्यवस्था बदल्न लडेका उनले प्रदेशमा सांसद र मन्त्री भएर अवस्था बदल्न प्रयत्न गरे । त्यही प्रयत्नलाई सकारात्मक रूपमा लिँदै सिन्धुपाल्चोक २ मा मतदाताले उनलाई निर्वाचित गरेका छन् ।



