काठमाडौं : बागमती प्रदेश नेपाली कांग्रेसको संसदीय दलमा बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँ फेरि आमनेसामने भएका छन् । बानियाँलाई पराजित गर्दै कांग्रेस संसदीय दलको नेता बनेका लामामाथि अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो । बुधबार दलको नेताको निर्वाचन हुँदैछ । बानियाँ र लामा दुवैले दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् । लामाको विपक्षमा ३७ मध्ये २२ सांसद देखिएका छन् । कांग्रेसमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने वयवस्था छ । सोही व्यवस्थाको दाबी गर्दै बानियाँ पक्षले मुख्यमन्त्रीमा दाबी गरिररहेको छ । लामाले भने दलको नेता हटे पनि मुख्यमन्त्री हट्न बाध्य नरहेको दाबी गरेका छन् ।

मुख्यमन्त्री नछाड्ने लामो अडान
विश्वासको मतको पक्ष–विपक्षमा मतदान हुँदा लामाको पक्षमा १५ मत र विपक्षमा २२ मत खसेपछि लामा दलको नेताबाट हटे पनि मुख्यमन्त्री नछाड्ने गरी तयारीमा जुटेका छन् । संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री हुने लाइनमा रहेका नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको पक्षमा २३ सांसदहरूले साथ दिने पक्का भएको छ ।

तर मुख्यमन्त्री लामाले पद नछोड्ने अडान राखेका छन् । पार्टी विधानअनुसार सरकारको नेतृत्व गर्ने हैसियत लामाले गुमाएका छन् । यद्यपि उनले मुख्यमन्त्री पद नछाड्ने अडान छोडेका छैनन् । संसदीय दलको नेताबाट हट्दैमा मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कारण नरहेको लामाले जिकिर गरे । लामा यसअघि २१ सांसदको हस्ताक्षरमा दलको नेता र मुख्यमन्त्री बनेका थिए । बागमती सरकारका मुख्यमन्त्री, मन्त्री र कांग्रेसका सांसदबीच पछिल्लो समय असन्तुष्टि चुलिएको थियो ।

त्यसैअनुरूप लामाको विपक्षमा यसअघि २१ सांसदको हस्ताक्षरसहित बानियाँले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर रहेका कांग्रेसका प्रदेश सांसदहरू मीना पराजुली र माया श्रेष्ठले आफूहरूको असहमतिका बीच हस्ताक्षर गराइएको भन्दै लामाकै पक्षमा विज्ञप्ति निकाले पनि अन्ततः उनीहरूले पनि बाँनियाका पक्षमा मतदान गरेका छन् ।

सांसदहरूको बहुमतले दलको नेता हटाइए पनि पद नछाड्ने लामाको अडानले अर्को मुख्यमन्त्री चयनका लागि समस्या उत्पन्न भएको छ । यस घटनाले कांग्रेसभित्र थप असहज परिस्थिति निम्तिएको नेताहरूले बताएका छन् । कांग्रेस सांसदले अर्को व्यक्तिलाई संसदीय दलको नेता चुनेको अवस्थामा समेत नयाँ मुख्यमन्त्री तत्कालै बनाउने सम्भावना कम छ ।

यस्तो छ निर्वाचन कार्यतालिका
निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत साउन १४ गते बिहान ८ बजे मतदाता नामावली प्रकाशित हुनेछ भने नामावलीमा दाबी विरोध साउन १४ गते बिहान ८ः३० देखि ९ बजेभित्र गर्ने तय भएको छ ।

उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम साउन १४ गते बिहान १० बजेदेखि ११ बजेभित्र सञ्चालन हुनेछ । उम्मेदवारहरूको प्रारम्भिक नामावली स ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको