
काठमाडौं : नेपाल दालमोठ उत्पादक संघले कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय रामनाथ अधिकारीसँग भेट गरी स्वदेशी कृषि उद्योगको प्रवर्द्धनसम्बन्धी ज्ञापनपत्र बुझाएको छ। संघले आलु उत्पादनमा आत्मनिर्भरता, केराउको आयातमा लगाइएको बन्देज फुकाउन, र बाझो जमिनमा आधुनिक कृषि प्रविधिबाट व्यावसायिक खेती गर्नुपर्ने प्रस्तावहरू प्रस्तुत गर्दै सरकारसँग नीतिगत सहयोगको माग गरेको हो।
उक्त भेटघाटमा संघका निवर्तमान अध्यक्ष नारायण कार्की, वर्तमान अध्यक्ष हेमकान्त पराजुली, उपाध्यक्ष विष्णु रिमाल, सचिव भुवन श्रेष्ठ, कोषाध्यक्ष हरिकुमार दुलाल, तथा अन्य सदस्यहरूको उपस्थिति थियो। कोषाध्यक्ष दुलालले ज्ञापनपत्रमा समेटिएका मुख्य माग तथा सुझावहरू प्रतिवेदनको रूपमा प्रस्तुत गर्दै मन्त्री समक्ष वाचन गरेका थिए।
संघले स्पष्ट पारेको छ कि सरकारले सहजीकरण गरेमा दलमोठ लगायत कृषि आधारित उद्योगहरूको लागि आवश्यक कच्चा पदार्थहरू (जस्तै: आलु, केराउ आदि) स्वदेशमै उत्पादन गरी आयातमा निर्भरता घटाउन सकिनेछ।
अध्यक्ष पराजुलीले भने, “देशका विभिन्न भागमा बाँझो रहेको जमिनलाई आधुनिक कृषि प्रविधिबाट उपयोग गर्ने हो भने आन्तरिक उत्पादनमा उल्लेखनीय फड्को मार्न सकिन्छ। स्वदेशी उद्योगले टेवा पाउँछ, रोजगारी सिर्जना हुन्छ।”
मन्त्री अधिकारीले संघका मागहरू गम्भीरतापूर्वक सुन्नुभएको थियो र मन्त्रालयबाट आवश्यक नीतिगत तथा प्राविधिक सहयोग उपलब्ध गराइने आश्वासन दिनुभयो।