काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहिबार बागमति करिडोरको अनुगमन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले विहानै सो क्षेत्रको निरीक्षण गरेको हो ।

उपप्रधानमन्त्री सिंहले वर्षा लागेसँगै बागमतीमा बाढीकाे सम्भावित जाेखिम बारे स्थलगत निरिक्षण गरेर चासाे व्यक्त गर्नुभएकाे छ । वर्षा लागेसँगै बागमती नदिले पार्न सक्ने असर न्यूनिकरणका लागि आवश्यक काम अघि बढाउन पनि उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई सचेत गराउनुभएको छ ।

टाेलीले सुन्दरीजलदेखि गाेकर्ण र माकलबारी क्षेत्रमा मन्त्रालय अन्तर्गत भइरहेका कामहरु, ढल व्यवस्थापन, बागमति साैन्दर्यकरण लगायतको अवलोकन गरेको छ । सो क्षेत्रमा अवलोकन गर्ने क्रममा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बागमतीलाई स्वच्छ बगाउन र ढल व्यवस्थापनका लागि तत्काल आवश्यक कार्यअघि बढाउन निर्देशन दिनुभयो ।

गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल र काठमाडौं ३ का सांसद सन्ताेष चालिसे शहरी विकास मन्त्रालयअन्तर्गत धेरै कामअघि बढेकाे भन्दै आभार व्यक्त गरेका थिए । नगर प्रमुख रिसालले नगरपालिकाले बागमति स्वच्छ बनाउन पालिकाभित्र गरिरहेकाे कामबारे जानकारी गराउनुभयाे ।

काठमाडौं उपत्यकाको नदि र कोरिडोरको विषयलाई शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र बाग्मती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएको छ ।

उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखिनै काठमाडौं उपत्यकाका नदिनाला सफाइ र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिँदै आउनुभएको छ । यस वर्षको बजेटमा समेत शहरी विकास मन्त्रालयले उपत्यकाको नदिनाला संरक्षण र कोरिडोर विस्तारमा ३ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । साे क्रममा काठमाडौं आयुक्त सुवास बस्नेतलले गाेकर्ण क्षेत्रकाे सुन्दरीजल सडकमा परेका घरहरूकाे क्षतिपूर्तिकाे विषयमा उपप्रधानमन्त्री सिंहलाई जानकारशि गराएका थिए ।
उपप्रधानमन्त्री सिंहसँगै मन्त्रालयका सचिव गोपाल सिग्देलसहितको टोली, काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत , अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि सहभागि थिए ।
बुधबार उपप्रधानमन्त्री सिंहले विष्णुमतिकाे बुढानिलकण्ठ क्षेत्रकाे निरिक्षण गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको