काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बजेट नेपाललाई उजाड एवं जनतालाई निराश बनाउने किसिमको रहेको टिप्पणी गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को बैठकमा आज प्रस्तुत गरेको आर्थिक बर्ष २०८२÷८३को बजेट मुलुकमा देखिएको समस्या सम्बोधन गर्ने कुनै पनि कार्यक्रम नदेखिएको उनले बताए ।
संसद् भवन बानेश्वरमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै आजपा अध्यक्ष एवं सांसद साहले भने, ‘हाल मुलुकमा देखिएको समस्यालाई सम्बोधन गर्ने कुनै कार्यक्रम देखिएन । नेताहरूको भुडी भर्ने खालको छ, वितरण पुरै असमान छ ।’
सरकारले नेपालको पूँजी खुलेयाम विदेश लान पाउने व्यवस्थाको उनले विरोध गरे । सरकारले २५ प्रतिशत विदेश लान पाउँने गरी व्यवस्था गर्नु भनेको सरकारले मुलुकको अर्थतन्त्र ध्वस्त बनाउन खोजेको प्रस्ट रहेको उनले बताए । उनले सरकारले बजेट बनाउदा बिचौलियालाई गुण तिरेको साहले बताए ।
‘प्राकृतिक सम्पदाको अब खुलेआम दोहन गर्न पाउने भयो । हिजो हदबन्दीको सम्पत्ति राज्यको हुन्थ्यो, आज फुकुवा भयो । गरिव श्रमजीवीलाई बिर्सेको र बैदेशिक रोजगारमा रहेका युवालाई दुखी बनाउने खालको छ,’ आजपा अध्यक्ष साहले भने ।



