भिजिट भिसा प्रकरणबारे केही कुरा :

१) राज्यको जिम्मेवारीमा रहेका अधिकारी तथा निकायहरूबाट अख्तियारको दुरुपयोग गरी भिजिट भिसाका नाममा सयौं नेपाली नागरिक ठगिएका, शोषणमा परेका सन्दर्भमा सार्वजनिक भइरहेका प्रकरणहरुले यो विषय कुन हदसम्म विकराल रहेछ र यसको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने तथ्यले हामी सबैलाई स्तब्ध बनाएको छ । नागरिक सुरक्षा र संरक्षणको जिम्मेवारी लिएका राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यी हर्कतहरू गैह्रकानूनी त छँदैछन्, अमानवीय पनि छन् । यस्तो कुकृत्यमा संलग्न जोसुकै होस्, जुनसुकै पद, तह र तप्काको होस्, राजनीतिक नेतृत्व होस् वा प्रशासनिक होस्, पर्दा अगाडिको होस् वा पछाडिको होस् सबै कारवाहीको दायरामा ल्याउनैपर्छ । कोही पनि उम्कन हुँदैन, उम्कन पाउँदैन ।

२) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख लगायतमा अनुसन्धान थालेको छ । कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर तथा भिडको दबाव वा प्रभावमा नपरी निष्पक्ष ढङ्गले अख्तियारले अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । कुनै अलमलमा नपरिकन यसको गहिराइसम्म पुग्नुपर्छ । जो जो परोस् जहाँ सम्म पुगोस् यसका जरा, हाँगा बिंगा सबै खोज्नुपर्छ ।

३) अध्यागमन विभाग गृह मन्त्रालय अन्तर्गतको निकाय भएकोले यो विषयमा गृहमन्त्री रमेश लेखकको नाम पनि जोडेर चर्चा-परिचर्चा भइरहेको छ । यसरी नाम जोडिएर चर्चा भइसकेपछि पदमा रहिरहन मिल्छ कि मिल्दैन? अनेकन कोणबाट बहस भइरहेको छ। यस सन्दर्भमा;

क) राज्यको जिम्मेवारीमा रहेका व्यक्तिबाट अख्तियार दुरुपयोग गरी भ्रष्टाचारजन्य काम हुन्छ भने त्यसको अनुसन्धान र अभियोजन गर्ने जिम्मा संविधानले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ । त्यसैले हरेक वर्ष अनेकन विषयमा हजारौंको संख्यामा अधिकारीहरू माथि अनुसन्धान भैइरहेको हुन्छ ति मध्ये कसैलाई अभियोजन हुन्छ कसैलाई हुदैन, यो नियमित प्रक्रिया हो । यो प्रक्रियामा सवैले सहयोग पुर्‍याउनुपर्छ ।

वर्तमान सरकारकै पनि दर्जनौ मन्त्रालयका सयौं अधिकारी माथि अहिले अनुसन्धान भै रहेको छ, जुन निकाय वा जो माथि अनुसन्धान भैइरहेको छ सम्बन्धित विषयसंग उनीहरु नै जोडिन्छ । अनुसन्धानका क्रममा नयाँ तथ्य र प्रमाणहरू प्राप्त भए भने, अनुसन्धानको दायरामा अन्य जिम्मेवार प्रशासनिक वा राजनीतिक अधिकारीहरू थपिंदै जान्छन । त्यस्तो अवस्था नआउँदा वा नहुँदासम्म अनुसन्धानको दायरामा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर्‍याउने विषय न त कानूनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ । हिजोका दिनमा यस्तो अवस्थामा हामीले भन्दै आएको कुरा यही नै हो र यो भिजिट भिसा प्रकरणका सन्दर्भमा पनि कुरा यही नै हो ।

ख) माननीय रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमान्दारिता र कुशलतापुर्वक निर्वाह गर्दै आउनु भएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो । तर हामीलाई थाहा छ – कानुनी राज्यमा कसैको विश्वास वा आग्रह भन्दा माथि तथ्य र प्रमाण हुन्छ ।

भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने, अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ । त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाइ उत्तिकै विश्वास छ ।

हिजोका दिनमा ,मन्त्री अनुसन्धानको दायरामा आएको अबस्थामा हामीले जे भन्दै आएको, यो प्रकरणकामा पनि हाम्रो कुरा यही नै छ, हुनुपर्छ । अन्त्यमा, भिजिट भिसा प्रकरणमा अनुसन्धानमा कुनै अलमल नहोस्, यो संगठित जालो र अपराधमा संलग्न देखिएका दोषी दण्डित हुनुपर्छ । यससंगै भिजिट भिसाको नाममा हुने गरेको ठगिको धन्दा र यसको नेक्सस सधैलाई बन्द गर्न तथा यो नाममा आम नागरिकले भोग्नुपरेको सास्ति र शोषणको अन्त्य गर्न कानूनी र प्रशासनिक सुधार तत्काल गर्नु आवश्यक छ ।

(नेपाली कांग्रेसको धरान उप-महानगर सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री गगन थापा)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर