
काठमाडौं : भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने नेपालको भ्रमणका लागि आज आइपुगको छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी नेपाल आएका हुन् । गत माघ ३० गते भारतको भ्रमणका क्रममा ऊर्जामन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
भारतीय मन्त्री खट्टर आज सङ्खुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तरगत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा तुम्लिङटार सवस्टेसन, केभी बानेश्वर सवस्टेसन तथा केभी बसन्तपुर सवस्टेसनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले जनाएको छ । भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह र बाँध क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम छ ।
आज नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारण लाइनको सम्झौतापत्रमा पनि हस्ताक्षर हुनेछ । वैशाख १० गते भारतीय मन्त्री खट्टरले मुक्तिनाथको अवलोकन भ्रमण गर्नेछन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।