काठमाडौं । बागमती प्रदेशका आन्तरिक, मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा भूमिका विहीन भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारको भूमिका शून्य देखिएको भन्दै गुनासाे गरे ।
प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामती, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरू संघीय कानुन बन्न सकेकाे छैन । जसकारणले प्रदेश सरकार बुख्याँचा जस्तो भएको उनले बताए । मन्त्री लामिछानेले भने, `अधिकार नभएको गृहमन्त्री, सञ्चार गृहहरू नभएको म सञ्चारमन्त्री । मैले बनाएको कानुन संघीय कानुनसँग जुध्छ । संघीय कानुन १२ सालको छ । त्यसको कानुनमन्त्री । तीन वटा मन्त्रालय सम्हालेको छु । तर अधिकारविहीन छु ।´



