
काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औं महाधिवेशनमा डा. नरेश भट्टले अध्यक्ष पदको लागि औपचारिक उम्मेदवारी घाेषणा गरेका छन् । पार्टीले महाधिवेशनका लागि दिएकाे समय पटक पटक थप भइरहेका बेला अब थप्न नहुने माग बढिरहेका बेला भट्टले उमेदवारी घाेषणा गरेका हुन् । अब पटक पटक मिति थपेर महाधिवेशन धकेल्नुहुँदैन,´ उनले भने, अध्यक्षका लागि मेराे तयारी हाे । कुनै हालतमा अब महाधिवेशन हुनैपर्छ ।´
कैलाली, धनगढीका निवासी डा. भट्ट विद्यार्थी आन्दोलनको अग्रपङ्क्तिमा रहेर सक्रिय रहँदै आएका छन् । उनले काठमाडौं विश्वविद्यालयबाट चिकित्साशास्त्रमा स्नातक गरेका छन्, उनी नेपाल ल क्याम्पसका कानुनका विधार्थी पनि हुन् र लामो समयदेखि नेविसंघको केन्द्रीय सदस्यको रूपमा सक्रिय छन्।
भट्टले चिकित्सा शिक्षामा निजी कलेजहरूको ८० लाखसम्म पुगेको शुल्क घटाएर ४० लाखमा सीमित गराउने, नर्सिङ तथा मेडिकल विद्यार्थीहरूको शुल्क फिर्ता, छात्रावास र छात्रवृत्तिको माग लिएर आन्दोलनको नेतृत्व गरेकाे भन्दै अब सबै समग्र विद्यार्थी आन्दाेनलाई अगाडि बढाउन आफू अध्यक्षका रूपमा मैदानमा आएकाे बताउँछन् ।
काठमाडौं विश्वविद्यालय मेडिकल साइन्सेजको नेविसंघ सभापति, विद्यार्थी कल्याण परिषद् अध्यक्ष, चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक र फेडेरेसन अफ नेपाली मेडिकल स्टुडेन्ट्सका राष्ट्रिय अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।
डा. भट्टले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, `देश, संगठन र विद्यार्थीहरूको हक–हितका लागि नेविसंघलाई एकताबद्ध रूपमा अगाडि बढाउने छु।´ उनको उम्मेदवारीले नेविसंघको नेतृत्व प्रतिस्पर्धालाई थप गतिशील बनाउने ठानिएकाे छ । भट्टको उम्मेदवारी विद्यार्थी अधिकार, शैक्षिक सुधार र संगठनको एकतालाई केन्द्रमा राख्ने देखिन्छ।