काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभएको छ । नेपाल भारत मैत्री संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल र भारतसम्बन्ध जनस्तरमै रहेको बताउनुभयो। मैत्री संघले दुई देशबीच जनस्तरमा सम्बन्ध बनाउन र नेपाल भारत सम्बन्ध सुमधुर बनाउन भूमिका खेलेको भन्दै प्रशंसा पनि गर्नुभयो।
‘धार्मिक, साँस्कृति पक्षबाट मात्र नभइकन राजनीतिक रुपमा राजनीतिक क्षेत्रबाट पनि सम्बन्ध रहेको कुरा तपाई हामीले सबैले बुझेकै कुरा हो । नेपाल र भारतमा खासगरि बहुसँख्यक जनता हिन्दु छन्। त्यतीमात्र नभइकन गौतम बुद्ध लुम्बिनीमा जन्मनुभयो । पछि ज्ञान प्राप्त भएपछि गयादेखि सारनाथसम्म गएर प्रवचन दिनुभयो। धर्मका आधारमा हेर्ने हो भने पनि नेपाल र भारतमा हिन्दु र बौद्धको उत्तिकै महत्व छ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो। उहाँले धेरै अगाडीदेखिनै नेपाल भारतबीच विवाहवारी समेत चल्ने गरेको पनि बताउनुभयो।
धार्मिक,सँस्कृतिक र राजनीतिक रुपमा नेपाल भारत सम्बन्ध महत्वपूर्ण रहेको उहाँको भनाई छ। विगतमा भारतीय स्वतन्त्रता संग्राम हुँदा भारतका नेताहरु नेपालमा आएको र प्रजातन्त्र प्राप्तिको आन्दोलनका बेला नेपाली नेताहरु भारत प्रवासमा गएको पनि सिंहले स्मरण गर्नुभयो । नेपाल र भारत दुवै देशमा बहुसँख्यक नागरिक हिन्दु धर्मावलम्बी रहेको र नेपालमा जन्मिएका बुद्धले भारतमा प्रवचन दिएको भन्दै उहाँले हिन्दु र बुद्धिजमको महत्व ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । धार्मिक र साँस्कृतिक रुपमा दुई देशबीच गहिरो सम्बन्ध रहेको पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयो।
नेपालमा २०११ सालमा स्थापना भएको नेपाल भारत सम्बन्ध जनस्तरमा सुमधुर बनाउन मैत्री संघले लामो समयदेखि भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गर्नुभयो।



