काठमाडौँ– नेपाल बार एसोसिएशनको केन्द्रीय कार्यसमिति निर्वाचन, २०८१ को पूर्वसन्ध्यामा वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले नेतृत्व गरेको बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहले विशाल चुनावी सभा सभा सम्पन्न गरेकाे छ। बिहिवार काठमाडौँ बबरमहलस्थित कार्की ब्यांक्वेटमा निर्वाचन परिचालन समितिका संयोजक वरिष्ठ अधिवक्ता बसन्तराम भण्डारीको अध्यक्षतामा विशाल चुनावी सभा सम्पन्न भएको हो। सभामा तीन हजारभन्दा बढी कानुन व्यवसायीको सहभागिता रहेको समितिले जानकारी दिएको छ। याे समूह अहिले निकै उत्साही देखिएकाे छ ।
कार्यक्रममा डीएलए, पीपीएलए र एनडीएलको गठबन्धनबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले युवा कानुन व्यवसायीको क्षमता विस्तार गर्न वरिष्ठ अधिवक्ताहरूसँगै बहसपैरवीमा सहभागी गराउनुपर्ने आचारसंहितामा उल्लेख भएकाले उक्त विषयलाई आफ्नो टिमले कार्यान्वयन गरिछाड्ने एजेन्डा प्रस्तुत गरेका थिए।
कानुन व्यवसायीहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने आफ्नो समूहले काम गर्ने उनले बताए। ‘युवा कानुन व्यवसायीको क्षमता विस्तार, न्यूनतम पारिश्रमिक, वकिलको वाक् स्वतन्त्रताको पक्षमा आवाज उठाउने काम हामीले गर्छौँ,’ बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले घोषणापत्रमा ‘जहाँ सुनुवाइ त्यहाँ कानुन व्यवसायी’ भन्ने नारा राखेका छौँ। त्यसलाई कार्यान्वय गर्छौँ। अबको बार तालिमको बार हुनेछ। न्यायपालिकामा विकृति र विसंगति देखिए बाघझम्टाइ गरिनेछ। त्यसका लागि चाहिने नैतिक पूँजी मसँग छ। यहाँहरूले सहयोग गर्नु पर्नेछ। यति ठूला संगठनहरूको साथ रहेकाले हामी त्यो काममा सफल हुनेछौँ।’ मिश्रले बारमा काम गर्दा व्यावसायिक हकहित, स्वतन्त्र न्यायपालिका, संविधान संशोधनमा प्रभावकारी भूमिका निर्वाह गर्ने कुरामा कटिबद्ध भएको बताए।
कार्यक्रममा डीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले मिश्र टिम विजयी हुनेमा कुनै सन्देह नरहेको उल्लेख गरे। मिश्र टिमको घोषणापत्रमा कानुन व्यवसायीहरूका सरोकारका सबै मुद्दाहरूलाई सम्बोधन गर्ने विषय समावेश गरेको र ती मुद्दाहरूलाई कार्यान्वयन गर्नेमा पनि विश्वस्त सुनिए।
‘नेपाल बारको इतिहासमा यति ठूला शक्ति एकठाउँ उभिएको पहिलो पटक हो,’ उनले भने, ‘जुन दिन मिश्र टिमको उम्मेदवार पर्यो, त्यही दिन दुई तिहाईभन्दा बढी मतले विजयी हुने सुनिश्चित गरिसकेको छ।’
कार्यक्रममा पीपीएलका अध्यक्ष वरिष्ठ भोजराज आचार्यले टिम विजयले विचारले नेतृत्व गर्दै सबल र गौरव गर्ने बार बनाउने उद्घोष गरे। ‘हामी यसपल्ट ऐतिहासिक हासिल गर्छौँ। सुदृढ एकता देखाउँछौँ। मिश्रको टिममा रहेका २५ मा २५ जना विजयी बन्नु हुनेछ,’ उनले भने। उनले बार कस्तो हुनुपर्छ भन्ने आदर्श टिम विजयले विजयी भएर गएपछि देखाउने पनि बताए।
एनडीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता राजु बस्नेतले डीएलए, पीपीएल र एनडीएलए एकठाउँ रहेकाले मिश्र टिमको विजय सुनिश्चित रहेको उल्लेख गरे। निर्वाचन मूल समितिका संयोजक बसन्तराम भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
फितलाे देखिँदै रमण समूह
चुनावमा होमिएको वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ नेतृत्वको अर्को टिमले बुधबार कार्की ब्याङ्क्वेटमा नै गरेको कार्यक्रममा करिब चार सय कानुन व्यवसायीहरू उपस्थित रहेको एक जना सहभागीले बताए। ‘बुधबार र बिहीवार दुवै समूहले आयोजना गरेका सभामा उपस्थितहरूको संख्याका आधारमा भन्ने हो भने वरिष्ठ अधिवक्ता मिश्रको समूह भारी देखियो। उनको समूहको सभामा कम्तीमा झन्डै तीन हजार कानुन व्यवसायी देखिए,’ सभामा सहभागी एक कानुन व्यवसायीले भने, ‘वरिष्ठ अधिवक्ता श्रेष्ठको सभामा चार सय जना जति थिए।’
ती कानुन व्यवसायीले उपस्थिति संख्या दुवै समूहहरूले प्रतिनिधित्व गर्ने संगठनका आकारका आधारमा उपस्थितिमा फरक परेको हुन सक्ने बताए। उनले चुनावअघिको माहोल अनुमान गर्न दुवै सभामा सहभागीहरूको संख्या काफी भएको उल्लेख गरे।
बार निर्वाचनको संघारसम्म आइपुग्दा दुवै समूहले आफ्ना एजेण्डा र योजनाबारे कानुन व्यवसायीहरूसँग भेटवार्ता र अन्तक्रिया सकेका छन्। बिहिवार मध्य रातबाट मौन अवधि सुरु हुनअघिसम्म दुवै समूहले आफ्ना प्रचारप्रसारलाई तीव्र बनाएका थिए।
चुनावी सभापछि वरिष्ठ अधिवक्ता मिश्र समूह उत्साही देखिएको उक्त समूहका एक उम्मेदवार बताउँछन्। ‘हाम्रो टिम सबै हिसाबले काविल छ। सशक्त युवाहरू हाम्रो समूहमा छन्। अध्ययन–अनुसन्धान र प्राज्ञिक अभ्यास मात्र होइन, व्यावसायिक अभ्यासका हिसाबले पनि हाम्रो टिम कहीँ कतै कमजोर देखिँदैन’ बिहीबारको सभापछि ती उम्मेदवारले भने, ‘हाम्रो सभाले जसलाई जवाफ दिनुपर्ने थियो दिएको छ। डीएलए, पीपीएलए र एनडीएलएका अध्यक्षज्यूहरूले मञ्चबाटै समूहप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’
बारको नयाँ नेतृत्वका लागि शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार हाल देशभरमा ९ हजार ७ सय मतदाता छन् । निर्वाचन समितिको नेतृत्व वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले गरेका छन् भने सदस्यहरूमा वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौला, वरिष्ठ अधिवक्ता तेजनाथ धमला, अधिवक्त सेवन्त निरौला र अधिवक्ता चन्द्रबहादुर शाही छन्।
दिउँसो ४ बजे मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरी मतदान केन्द्र बमोजिम मतगणना हुने निर्वाचन समितिले जानकारी दिएको छ। चाँडो मतगणना सम्पन्न गरी नतिजा प्रकाशन गर्ने योजना बनाएको समितिको भनाइ छ।



