जनकपुर । मधेश प्रदेश सरकारले जनकपुरधामको सौन्दर्यीकरणलाई बहुवर्षीय योजनाअन्तर्गत अघि बढाउँदै शौचालय निर्माणलाई विशेष प्राथमिकतामा राख्ने निर्णय गरेको छ । सो क्रममा प्रदेश सरकारले जनकपुरधामका मुख्य पर्यटकीय क्षेत्रहरूमा आधुनिक सुविधायुक्त शौचालय निर्माण गर्ने घोषणा गरेको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले योजना अन्तर्गत तीनवटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने जनाएका छन्। यी शौचालयहरू बसपार्क, राम मन्दिरको दक्षिणपट्टि र जानकी मन्दिरको दक्षिण कुनामा निर्माण गरिनेछ।

यो योजना जनकपुरधाममा आउने पर्यटकहरूको सुविधाका लागि विशेष रूपमा बनाइएको हो। ‘जनकपुरधाम एक धार्मिक तथा सांस्कृतिक केन्द्र भएकोले यहाँ आउने भक्तजन र पर्यटकलाई सफा तथा व्यवस्थित सार्वजनिक शौचालयको आवश्यकता छ । हामीले यही आवश्यकतालाई मध्यनजर गर्दै योजनालाई अघि बढाएका हौँ,’ उनले भने।

यस योजनाको लागि आवश्यक टेन्डर प्रक्रिया सुरु भइसकेको छ । यस कार्यको संयोजन मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलगायत सरोकारवाला निकाय र मन्त्रालयका प्राविधिक टोलीले गरेका छन् । मुख्यमन्त्री सिंहले यो परियोजनालाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन्।

यस योजनाका लागि तयार गरिएका आर्किटेक्चरल डिजाइनहरू सार्वजनिक गरिएका छन् । यी आधुनिक शौचालयहरूमा स्वच्छता, सहज पहुँच र वातावरणमैत्री संरचनाहरू रहनेछन् । प्रदेश सरकारले आगामी वर्षहरूमा अन्य क्षेत्रहरूमा पनि यस्ता सुविधाहरू विस्तार गर्ने योजना बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर