काठमाडौं । पिएम कपको फाइनल खेलमा आर्मीले अर्को विभागीय टोली पुलिसविरुद्ध १ सय ५४ रनको योगफल तयार गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा अल आउट हुदै १ सय ५४ रनको योगफल तयार गर्यो ।
आर्मीका लागि बसिर अहमदले अविजित रहँदै सर्वाधिक ८६ रन जोडे। उनले १ सय ४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरे । टोलीले २५ रन जोड्दा ५ विकेट गुमाइसकेको अवस्थामा बसिर क्रिजमा आएका थिए । छैठौं विकेटका लागि कप्तान विनोद भण्डारीसँग मिलेर ७२ रनको महत्वपुर्ण साझेदारी गरे।
कप्तान विनोद ५८ बलमा ३ चौकाको सहयोगमा २९ रनमा आउट भए । सुरुवाती क्रमका ब्याटर सस्तैमा आउट भएर लज्जास्पद स्थितीमा पुगेको आर्मीलाई बसिरले सम्मानजनक योगफलसम्म पुर्याए । नवौं विकेटका लागि बसिरले विवेक यादवसँग मिलेर ३६ रनको साझेदारी गरे । विवेकले २७ बलमा ११ रन जोडे।
आर्मीको माथिल्लो क्रमको ब्याटिङलाई चल्न नदिन पुलिसका तीव्रगतिका बलर करण केसीले ३ विकेट लिए । सागर ढकालले ३, कप्तान दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी र गुल्शन झाले समान १ विकेट लिए।



