काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबारको अपराधिक चरित्रका गतिविधिहरुको अनुसन्धान गरेर कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
शनिबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय अुनगमन गर्दै उनले सञ्चार गृहमाथि आक्रमण गर्ने, गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने नीजि र सरकारी सम्पत्ति ध्वस्त गर्ने जुन काम भयो त्यो अपराधिक भएको भन्दै यसमा अनुसन्धान गर्ने बताएका हुन् ।उनले घाइते भएका मानिसको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको लागि सरकारले आवश्यक उपचारको व्यवस्था पनि गर्ने बताए ।
उनले भने, ‘मानिस घाइते भएका छन् उहाँहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उनीहरुका लागि सरकारले आवश्यक उपचारको व्यवस्था पनि गर्छ र हिजो जुन अपराधिक घटना भएको छ । सञ्चार गृहमाथि आक्रमण गर्ने छानी छानी गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने नीजि र सरकारी सम्पत्ति ध्वस्त गरेर जुन चरित्रको प्रदर्शन भयो त्यो अपराधिक चरित्र हो र यसमा कानून अनुसार अनुसन्धान गरेर कारबाही हुन्छ ।’
यस्तै, उनले प्रदर्शनका नाममा भएका गतिविधिहरुको राजनीतिक दर्शन, आदर्श, सिद्धान्त र चेतनासँग टाढा टाढासम्म साइनो नभएको पनि बताए ।
उनले भने, ‘हिजो जुन प्रदर्शनका नाममा जे कामहरु भएका छन् । यसको राजनीतिक दर्शन, आदर्श, सिद्धान्त र चेतनासँग टाढा टाढासम्म पनि साइनो छैन् । यो अपराधिक र अमानवीय घटना भएको छ । त्यो पनि यो यो ठाँउमा आक्रमण गर्ने भनेर घोषणा गरेर ती कामहरु भएका छन् । मानिस घरभित्र छ भनेर थाहा हुँदाहुँदै बाहिरबाट आगो लगाइएको छ । एकजना पत्रकारको ज्यान गएको छ, प्रहरीले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्ने क्रममा बल प्रयोग गर्नुपर्ने भयो र अर्कोको पनि ज्यान गयो । त्यसमा दुःख लागेको छ ।’
लोकतान्त्रिक गणतन्त्रका पक्षधर पार्टीहरुका कार्यालय, मिडिया हाउसहरु र सपिङ् कम्प्लेक्सहरुलाई मुख्य केन्द्रीत गरेर कामहरु भएको पनि उनको भनाई छ ।



