काठमाडौं : राजावादीको आन्दोलनमा घाइते भएकाहरुको नेपाली कांग्रेसका सांसद सुनिल शर्माको अस्पतालले निशुल्क उपचार गर्ने भएको छ ।
शर्मा सञ्चालक रहेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले शुक्रबार काठमाडौंमा भएकाे आन्दोलनमा घाइतेको निशुल्क उपचार गर्ने भएको हो ।
अस्पतालले विज्ञप्ति जारी गर्दै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेहरुको निशुल्क उपचार गर्ने सूचना जारी गरेको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा निस्किएको भिडले काठमाडौं तीनकुनेमा गरेको प्रदर्शन अराजक भएको थियो । एक नीजि घरमा आगलागी भएको छ भने आन्दोलनकारीहरुले प्रहरीको बन्दुकसमेत खोसेका थिए । कांग्रेस सांसद शर्मा र प्रसाई नजिकका मित्र मानिन्छन् । प्रसाई राजतन्त्र फर्काउने आन्दोलनका जनकमाण्ड तोकिएका छन् । आन्दोलन उग्र बनेपछि प्रसाई भने तिनकुनेबाट बाहिरिएका थिए।




