काठमाडौं। पुननिर्माणको क्रममा रहेको सेतो मछिन्द्रनाथको आसन निर्माणका लागि भारतीय दूतावासकातर्फबाट २४ किलो चाँदि आज हस्तान्तरण गरिएको छ। दूतावासका तर्फबाट काउन्सिलर अविनाश सिंहले चाँदी हस्तान्तरण गरेका हुन्। २४ किलो चाँदिको लागि भारत सरकारले ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । भारत सरकारले उपलब्ध गराएको सो रकमले राष्ट बैंकबाट केन्द्रिय आयोजना कार्यान्वयन इकाईले चाँदी खरिद गरेको थियो।
२०७२ सालमा आएको भूकम्पले क्षती पुर्याएको सो पुरातात्विक महत्वको मन्दिरको भारत सरकारकै सहयोगमा पुननिर्माणको काम भइरहेको छ। पुननिर्माणको समयमा लागत अनुमान गर्दा चाँदीको आसनको कार्य समावेश नभएपछि पुनः भारत सरकारलार्ई नै चाँदीका लागि आग्रह गरिएको थियो।
शहरी विकास मन्त्रालय मातहतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईले ६ करोड २६ लाख लागतमा पुरातत्व विभागबाट स्विकृत मास्टर प्लान र डिजाइनअनुसार मन्दिर प्रबलीकरणको ७५ प्रतिशत काम सकिएको बताएको छ। शहरी विकास मन्त्रालय मातहतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख प्रकाश आर्यालले भवन प्रबलिकरण र सेतो मछिन्द्रनाथको आसन निर्माणका लागि चाँदी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिँदै यसले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।



