मुगु । जुम्ला पशुचौपाय पालनको सम्भावना भएको क्षेत्र हो । भेडा–बाख्रापालन जुम्लालगायत कर्णालीका जिल्लाहरुमा मुख्य आयस्रोतका रुपमा लिइन्छ।
जुम्लामा ५० वटा भन्दा बढी भेडापालन गर्ने ३१५ जना किसान पशु अस्पताल तथा पशु सेवा कार्यालयमा सूचीकृत छन् । ५० भन्दा कम भेडा–बाख्रापालन गर्ने किसान पनि छन् । तर, सूचीकृत नभएपनि भेडा मात्रै पाल्ने १७ सय किसान छन् । ८८ हजार तीन सय भेडाको तथ्यांक रहेको छ।
गुठीचौर गाउँपालिका–१ का किसान दलबहादुर बस्नेतको आम्दानीको प्रमुख पेसा नै भेडापालन हो। उनीसँग अहिले १५० वटा भेडा रहेका छन्। उनले भेडा बेचेरै घरखर्च चलाउने गरेका छन् । उनले पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले भेडापालक किसानलाई गोठालो भत्ता वा प्रोत्साहन भत्ता उपलब्ध गराउने थाहा पाएपछि निवेदन दिएका थिए।
उनले अहिले १८ हजार प्रोत्साहन भत्ता (गोठालो भत्ता) प्राप्त गरेका छन् । भने, ‘यो रकमले थप भेडापालन व्यवसायमा टेवा पुगेको छ । अहिले डेढ सय भेडा छन् । प्रोत्साहन भत्ताबापत पाउने रकमले भेडामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको छ।’
आर्थिक अभावले व्यवसायलाई असर परेको थियो । सरकारको भेडापालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको सिँजा गाउँपालिका–६ का भेडापालक किसान सुवा रावतले बताए ।
सबैभन्दा बढी तातोपानी गाउँपालिका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ।
जुम्लाका २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ता वितरण गरिएको छ। यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन भत्ता प्रदान गरिने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाल प्रमुख ज्ञानेन्द्र बुढथापाले बताए।
जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालू आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन भएको छ।
मन्त्रालयको कार्यविधिअनुसार फर्म दर्ताको प्रमाणपत्रसहित कर चुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका करिब २३० जना भेडापालक किसानलाई १८ हजारका दरले प्रोत्साहनस्वरूप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढथापाले बताए।
भेडापालक किसानलाई प्रोत्साहन भत्ता कार्यक्रमले जिल्लाका किसानलाई निकै राहत मिलेको छ। कार्यक्रम लागू भएदेखि भेडापालक किसानसमेत बढेका छन्।
जिल्लामा भेडा मात्र पाल्ने किसान करिब १७ सयभन्दा बढी रहेका छन्। यहाँका आठवटै स्थानीय तहमा ८८ हजार तीन सयभन्दा धेरै भेडा पालिएका छन्। कार्यालय प्रमुख बुढथापाले भने, ‘भत्ता पाएपछि किसानलाई थप हौसला मिलेको छ ।’
भौतिक संरचना निर्माणदेखि खर्क सुधार कार्यक्रम र चरन क्षेत्र विस्तारमा समेत कार्यालयको विशेष प्राथमिकतामा परेको छ। अहिले भेडालाई चरन क्षेत्र अभाव र रोगको संक्रमण फैलिने डर छ । स्थानीय तहले पशु तथा पन्छी क्षेत्रमा बजेटको व्यवस्थापन गर्न नसकेको कार्यालय प्रमुख बुढथापाको भनाइ छ।



