काठमाडौं । प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेश पुलससङ्ग पराजित भएकाे छ। जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो ।
सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३२ रन जोडे । उनले ३७ बलको सामना गर्दै ६ चौका प्रहार गरे । मिलन बोहोरा ४३ बलमा २ चौकाको सहयोगमा २३ रन जोडे । टेक रावत १२ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका लागि ललितनारायणले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिए । प्रतियोगितामा ललितको यो लगातार तेस्रो ५ विकेट हल हो । यसअघि ललितले एपिएफविरुद्ध ६ तथा मधेशविरुद्ध ५ विकेट लिएका थिए । सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए ।
त्यसअघि सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको थियो ।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन जोडेका थिए । उनले ४७ बलको सामना गर्दै ५ चौका प्रहार गरे । आरिफ शेखले ६४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४० रन जोडे । सागर ढकालले ३२ बलमा २ चौकाको सहयोगमा २२ रन जोडे । दीलिप नाथ १९ र अमित श्रेष्ठ १८ रनमा आउट भए ।
सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ तथा हेमन्त धामीले १ विकेट लिए ।



