काठमाडौं । नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। शुक्रबार देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा एपीएफलाई २ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायमै राखेको हो। एपीएफले दिएको ९५ रनको लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । गुल्शन झा १२ रनमा नटआउट रहे। अर्जुन साउदले ११ तथा राशिद खानले १० रन बनाए। सुरुवात राम्रै गरेको भएपनि ५९ रन जोड्दा सेट ब्याटर कुशल भुर्तेल आउट भएपछि पुलिस दबाबमा आएको थियो।

एपीएफका लागि भुवन कार्कीले ७ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले २-२ तथा कमलसिंह ऐरीले १ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ २७.४ ओभरमा ९४ रनमा अलआउट भएको हो। एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २६ तथा लोकेश बमले २२ रन बनाए । आसिफ शेख र अमरसिंह राउटेलाले समान १० रन बनाए।

एपीएफलाई सस्तैमा अलआउट गर्न पुलिसका ललित राजवंशीले ७.४ ओभरमा १८ रन दिएर ६ विकेट लिए । सागर ढकाल, करण केसी, गुल्शन झा र कुशल भुर्ते‍लले १-१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको