
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार सिद्धर्थनगर क्रिकेट मैदानमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित निकाल्यो।
जितसँगै आर्मीले दुई खेलमा चार अंक जोडेको छ । पराजित सुदूरपश्चिमको तीन खेलबाट दुई अंक छ। आर्मीले पहिलो खेलमा बागमतीलाई हराएको थियो । कर्णालीसँग हार बेहोरेको सुदूरपश्चिमले गण्डकीलाई पराजित गरेको थियो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। आर्मीका लागि सन्तोष कार्कीले ६३ बलमा १० चौकाको मद्तले अविजित ५५ रनको योगदान गरे । यसैगरी तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले अविजित रन बनाए ।
सन्तोषले तेस्रो विकेटका लागि विनोदसँग अविजित ६१ र पहिलो विकेटका लागि तृतराजसँग ५३ रनको साझेदारी गरे। सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले समान विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो।
सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले १२१ बलमा दुई चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरे । यसैगरी सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए । आर्मीका लागि शहाब आलमले चार, सोमपाल कामीले दुई तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले समान एक विकेट लिए।