काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताएका छन्।नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा व्यक्त गरेका हुन्।
अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानमा क्रियाशील छौं । अभियानमा सम्पूर्ण पार्टी पंक्ति सक्रिय छ । हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं । यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ । जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन।’
सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उनले बताए। ‘हामी राम्रो काम गर्दै थियौं, तर उनीहरूले हाम्रो सरकार हटाइदिए । तर जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन्। हामीले प्रचारप्रसार गर्नै परेन। मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ। ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो । यो कुरा जनताले राम्रोसँग बुझेका छन्,’ उनले स्पष्ट पारे।
हुलाकी राजमार्ग निर्माणमा माओवादी केन्द्रको भूमिकाका कारण पनि सो राजमार्ग आसपासका जनतामा जागरण अभियानले थप उत्साह ल्याएको उनको भनाइ थियो। पूर्वको झापादेखि महोत्तरीसम्मको अभियानमा करिब ४ हजार जना माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गर्दै उनले तीमध्ये जनताबीच राम्रो प्रभाव भएका नेताहरू पनि रहेका कारण पार्टी पंक्तिमा उत्साह थपिएको बताए।



