भोजपुर। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मेहनतनै नगरि कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताउनुभएको छ। श्री सिद्धेश्वर माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले प्रगतिको जनचाहना पूरा गर्न मेहनत गर्नुपर्नेमा जोड दिनुभएको हो।
उहाँले २००७ मा प्रजातन्त्र स्थापनापछि दूरदराजगका गाउँमा शिक्षको ज्योती पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको पनि बताउनुभयो। उपप्रधानमन्त्री सिंहले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशिलता अपरिहार्य रहेकोमा पनि जोड दिनुभयो। देशले समृद्धि र विकास हासिल गर्नका लागि होस् वा विद्यार्थीले आफ्नो लक्ष्य प्राप्त गर्न मेहनत नगरि सम्भव नहुने सिंहको भनाई छ। ‘हामीसँग भएको चीजको महत्व नबुझ्ने, अरु ठाउँमा अरु देशमा भएको कुरामा मात्रै आकर्षित हुने प्रवृत्ति बढेको छ।
जे हामीसँग छ , त्यसैलाई सुधार गरेर हामी अगाडी बढ्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भन्नुुभयो,‘मेहनत गरेको खण्डमा त हामीले केही प्रगति गर्न सकौँला । मेहनतनै नगरिकन, कुरा मात्र गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न सकिँदैन ।’ अहिले अवसर पाएर पढिरहेका विद्यार्थीले समाजका लागि के गर्न सक्छौं भन्न्े सोच्न पनि उहाँले आग्रह गर्नुभयो । पाठ्यक्रमको शिक्षाले आधार बनाउने भन्दै उपप्रधानमन्त्री सिंहले प्रगतिका लागि भने आफ्नो रुचीको क्षेत्रमा लगनशिलताका साथ मेहनत गरे सफलता प्राप्त हुने बताउनुभयो।
उपप्रधानमन्त्री सिंहले २००५ सालमै स्थापना भएको सिद्धेश्वर माध्यमिक विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले समाजका विविध क्षेत्रमा योगदान गरिररहेको भन्दै विद्यालयको पूर्वाधार विकासमा आपूmले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउँदै विद्यालयको प्रगतिको कामना गर्नुभयो । फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले देशकोसमग्र विकासक्रम विधिसम्मत र व्यवहारिक रुपमा अघि बढाइरहेको बताउनुभयो । यो सरकार राजनीतिक स्थिरताको जगमा विकास निर्माणका कार्यहरु गर्नका बनेको पनि प्रष्ट पार्नुभयो।
‘आउने बजेटमा भएको स्रोत साधन परिणाममुखी हुने गरि, नागरिकले महसुस गर्ने गरि विकास निर्माणको काम गर्नेगरि सरकार अघि बढिरहेको छ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘अधिकार प्राप्त भएको छ । अधिकारसँगै हाम्रो जिम्मेवारी के हो भन्ने कुरामा विशेष ध्यान दिँदा समाजमा परिवर्तन ल्याउन त्यसले धेरै मद्धत पुर्याउँछ भन्ने मलाई लागेको छ।’ सिद्धेश्वर माध्यमिक विद्यालयले आज स्थापनाको ७७औं वार्षिेकोत्सव मनाएको हो । कार्यक्रममा सिंहसँगै नेपाली कांग्रेसका कोषाध्यक्ष, प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ पनि सहभागि हुनुहुन्थ्यो।



